काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आगामी शनिवार, काठमाडौंमा "राष्ट्रिय बृहत आर्थिक बहस २.०" कार्यक्रमको आयोजना गर्न लागेको छ। यस कार्यक्रमको प्रमुख उद्देश्य जेनजी आन्दोलन, देशको समग्र आर्थिक स्थिति र भविष्यका कार्यदिशासम्बन्धी साझा धारणा निर्माण गर्नु रहेको महासंघले जनाएको छ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की लगायत विभिन्न सरकारका मन्त्रीहरूको सहभागिता रहनेछ। यसमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, संघीय मामिला र सामान्य प्रशासन मन्त्री कुलमान घिसिङ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, गृह मन्त्री ओम प्रकाश अर्याल, र उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिल कुमार सिन्हाको प्रमुख सहभागिता रहने महासंघले जनाएको छ।
साथै, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिवहरू, नेपालमा रहेका विदेशी राजदूत, विकास साझेदार र विभिन्न नियोगका प्रमुखहरू, निजी क्षेत्रका प्रमुख र पदाधिकारीहरू पनि कार्यक्रममा उपस्थित हुनेछन्।
यसअघि, उद्योग वाणिज्य महासंघले २०८० सालमा राष्ट्रिय बृहत आर्थिक बहसको पहिलो श्रृंखला आयोजना गरेको थियो।
महासंघका अनुसार, यस कार्यक्रमले आर्थिक नीतिहरू र भविष्यका योजनाहरूको बारेमा खुला र रचनात्मक बहस गर्न महत्वपूर्ण मञ्च उपलब्ध गराउने अपेक्षा गरिएको छ।


