फेदीखोला हाइड्रोपावरले १७ करोड ६० लाख रुपैयाँको आईपीओ निष्काशन गर्ने

फेदीखोला हाइड्रोपावरले १७ करोड ६० लाख रुपैयाँको आईपीओ निष्काशन गर्ने

ट्याक्स खबर
बिहिवार, कार्तिक २७ २०८२
ट्याक्स खबर
बिहिवार, कार्तिक २७ २०८२
  • images

    काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (IPO) मार्फत १७ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ। कम्पनीले उक्त आईपीओ निष्काशन र बिक्री व्यवस्थापनका लागि एनएमबी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।

    कम्पनीको अधिकृत पूँजी रु. ८० करोड र जारी पूँजी रु. ८० करोड रहेको छ। सो जारी पूँजीको २२ प्रतिशत अर्थात् १७ लाख ६० हजार कित्ता साधारण शेयर प्रतिकित्ता अंकित मूल्य रु. १०० दरका दरमा जारी गर्न लागिएको कम्पनीले जनाएको छ। यी शेयरहरू आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, सामूहिक लगानी कोष, कम्पनीका कर्मचारी तथा सर्वसाधारणमा तोकिएका अनुपात अनुसार वितरण गरिनेछ।

    धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता २०८२ कार्तिक २६ गते सम्पन्न भएको हो। उक्त सम्झौतामा फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल र एनएमबी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन्।

    भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालिका–६ स्थित फेदी (थुमलुङ) खोलामा निर्माणाधीन ४.३ मेगावाटको फेदी (थुमलुङ) जलविद्युत आयोजनाको कुल लागत करिब ९४ करोड रुपैयाँ रहेको छ। हालसम्म आयोजनाको करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र २०८२ माघ महिनाभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

    प्रबन्ध सञ्चालक दुलालका अनुसार, परियोजनाको निर्माण कार्य योजनाबद्ध रूपमा तीव्र गतिमा अगाडि बढिरहेको छ। उनले नियामक निकायले तोकेको सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी सकेपछि आईपीओ निष्काशन प्रक्रिया पनि सकेसम्म छिटो अघि बढाइने जानकारी दिएका छन्।

    फेदीखोला हाइड्रोपावरको यो आईपीओ निष्काशनले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारण लगानीकर्तालाई ऊर्जा क्षेत्रमा लगानीको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend