अमेरिकामा २० जनवरीदेखि टिकटक प्रतिबन्ध, टिकटक खरीदमा एलन मस्कको चासो

अमेरिकामा २० जनवरीदेखि टिकटक प्रतिबन्ध, टिकटक खरीदमा एलन मस्कको चासो

ट्याक्स खबर
शुक्रवार, पौष ४ २०८२
ट्याक्स खबर
शुक्रवार, पौष ४ २०८२
  • images

    काठमाडौँ । अमेरिकी नयाँ कानूनअनुसार आगामी जनवरी २० देखि अमेरिकामा चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटक प्रतिबन्धित हुने भएको छ। यही सन्दर्भमा टेस्ला र स्पेसएक्सका मालिक तथा अमेरिकी अर्बपति एलन मस्कले टिकटक खरीद गर्न सक्ने सम्भावनाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा चर्चा सुरु भएको छ।

    सञ्चारमाध्यमहरूका अनुसार अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागू हुन करिब एक महिना मात्र बाँकी रहँदा मस्कले चिनियाँ शर्ट–भिडिओ प्लेटफर्म टिकटक खरीद गर्न रुचि देखाएका हुन्। यद्यपि यसबारे अहिलेसम्म टिकटक वा मस्कको तर्फबाट कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

    टिकटकको मूल कम्पनी बाइटडान्समा चीन सरकारको उल्लेखनीय स्वामित्व रहेको बताइन्छ। यस कारण टिकटकको भविष्यसम्बन्धी कुनै पनि निर्णय चीन सरकारको साइबरस्पेस प्रशासन, वाणिज्य मन्त्रालयलगायत सम्बन्धित सरकारी निकायहरूको स्वीकृतिमा निर्भर रहने सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

    टिकटकको अनुमानित मूल्य ४० देखि ५० अर्ब अमेरिकी डलरसम्म हुन सक्ने आँकलन गरिएको छ। सन् २०२२ मा ४४ अर्ब अमेरिकी डलर नगद तिरेर ट्वीटर खरीद गरेका मस्कका लागि फेरि यति ठूलो रकम खर्च गरेर अर्को सामाजिक सञ्जाल खरीद गर्नु सहज नहुने विश्लेषण पनि गरिएको छ।

    मस्कले २०२२ मा ट्वीटर खरीद गरेपछि यसको नाम परिवर्तन गरी ‘एक्स’ राखेका थिए र प्लेटफर्ममा व्यापक परिवर्तनसमेत गरेका छन्। सञ्चारमाध्यमहरूका अनुसार अमेरिकामा टिकटकसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहँदा मस्कको टिकटक खरीदबारे चर्चा चुलिएको हो। सर्वोच्च अदालतले टिकटक र यसको मूल कम्पनी बाइटडान्सविरुद्ध विभिन्न विषयमा सुनुवाइ गरिरहेको बताइएको छ।

    अमेरिकी सरकार, विशेषगरी ट्रम्प प्रशासन, टिकटकले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने आशंकाका आधारमा प्रतिबन्धको तयारीमा छ। चिनियाँ सरकारसँग टिकटकको सम्बन्ध र त्यसबाट अमेरिकी सुरक्षामा पर्न सक्ने प्रभावलाई लिएर अमेरिकी सरकार चिन्तित रहेको बताइन्छ। यसअघि भारतसहित विश्वका थुप्रै देशले सुरक्षाकै कारण देखाउँदै टिकटक प्रतिबन्ध गरिसकेका छन्। अमेरिकामा टिकटकका प्रयोगकर्ता करिब १७ करोड रहेका छन्।

    सञ्चारमाध्यमहरूका अनुसार यदि मस्कले टिकटक खरीद गरेमा अमेरिकामा टिकटक प्रतिबन्ध टर्न सक्ने सम्भावना पनि रहन सक्छ। विश्वभर अत्यन्त लोकप्रिय टिकटकमा अधिकांश प्रयोगकर्ता किशोर–किशोरी उमेर समूहका रहेका छन्।

    तर राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ल्याएको नयाँ नियमअनुसार अमेरिकी प्रयोगकर्ताहरूले आगामी २० जनवरीपछि टिकटक प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। टिकटकले मस्कद्वारा प्लेटफर्म खरीद गर्ने सम्भावनाबारे हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

    सन् २०२२ मा मस्कले ट्वीटर खरीद गरेपछि राष्ट्रपति ट्रम्पले पनि पुनः ट्वीटर प्रयोग गर्न थालेका थिए। मस्कले ट्वीटर खरीदपछि नामसहित संरचना र नीतिगत पक्षमा समेत उल्लेखनीय परिवर्तन गरेका छन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend