काठमाडौं। नेपाल राष्ट्र बैंकले सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई सेवा निर्यातका आधारमा विदेशमा लगानी गर्न अमेरिकी डलर २० हजारसम्मको विदेशी मुद्रा सटही सुविधा निःशर्त उपलब्ध गराउने निर्णय गरेको छ।
केन्द्रीय बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मा संशोधन गर्दै यो सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो। यसअनुसार, आईटी कम्पनीले कम्तीमा पछिल्ला तीन आर्थिक वर्ष सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेको हुनुपर्नेछ। सेवा निर्यातबाट प्राप्त औसत विदेशी मुद्राको ५० प्रतिशत वा १० लाख अमेरिकी डलर (दुईमध्ये कम) सटहीका लागि उपलब्ध हुनेछ।
संशोधित विनियमावली अनुसार, अब विदेशी मुद्रा सटहीका लागि सीधै राष्ट्र बैंक जानुपर्ने छैन। कम्पनीले यो सुविधा वाणिज्य बैंकमार्फत लिन सक्नेछन्।
त्यसैगरी, विदेशी लगानीकर्ता सम्बन्धित कम्पनी वा उद्योगमा कायम चुक्ता पूँजीको दुई गुणासम्म विदेशी ऋण लिन सक्ने व्यवस्था गरिएको छ, तर आवश्यक परे यो सीमा पाँच गुणासम्म बढाउन सकिने प्रावधान पनि राखिएको छ। ब्याजदर सम्बन्धमा, प्रिमियमदरको ५० प्रतिशत भन्दा बढी नबढ्ने गरी वार्षिक ब्याजदर कायम गर्नुपर्ने उल्लेख छ।
विदेशी ऋणसम्बन्धी कारोबारमा ऋणदाता र ऋणी बाहेक तेस्रो पक्षले रकम भुक्तानी गर्न नपाउने, र आवश्यक परामर्श सेवा शुल्क ऋणदाताले स्वयं तिर्नुपर्ने व्यवस्था पनि विनियमावलीमा समावेश गरिएको छ।
केन्द्रीय बैंकले शेयर स्वामित्व परिवर्तनमार्फत गरिने विदेशी लगानीको पूर्वस्वीकृति आवश्यक पर्ने प्रावधानलाई पनि हटाएको छ। अब विदेशी लगानीबाट प्राप्त रकम नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक नहुने व्यवस्था लागू हुनेछ।


