सुधन गुरूङले जेनजी आन्दोलनपछि आफू गृहमन्त्री बन्नुभन्दा पाँच दिन अघिसम्म करिब ५० दिनभित्र धितोपत्र बजारमा ५० लाख रूपैयाँभन्दा बढीको शेयर किनेको विवरण फेला परेको छ।
गृहमन्त्री गुरूङले २०८२ माघ १५ बाट चैत ८ गतेसम्म ५३ लाख ३५ हजार ५८० रूपैयाँको शेयर किनेका हुन् ।
यसबाट जेनजी आन्दोलनको पाँच महिनापछि उनले दोस्रो बजारमा शेयर किन्न थालेको देखिन्छ। फागुन २१ को चुनाव सकेर गृहमन्त्री नियुक्त हुनुभन्दा पाँच दिनअघिसम्म उनी शेयर खरिदमा सक्रिय छन्।
त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान क्रममा पक्राउ परेका दीपक भट्ट समूहको कम्तिमा दुईवटा लघु बिमा कम्पनीमा पनि गृहमन्त्री गुरूङ ५० लाख रूपैयाँको संस्थापक सेयर लगानीकर्ता रहेको खुलेको छ।
आफ्नो स्वामित्वमा रहेका यी सेयरहरूका बारेमा गृहमन्त्री गुरूङले सम्पत्ति विवरणमा प्रस्ट खुलाएका छैनन्।
बालेन शाहसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका सुधन फागुन २१ को निर्वाचनमा गोरखा १ बाट विजयी भएका थिए। रास्वपाले करिब दुई तिहाइ बहुमत ल्याएपछि चैत १३ गते प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सरकार बनेको थियो। सुधन गुरूङले पनि गृहमन्त्रीका रूपमा त्यसै दिन शपथ लिएका थिए।
गृहमन्त्री गुरूङले दोस्रो बजारबाट १० पटकमा ५३ लाख रूपैयाँभन्दा बढीको शेयर किनेका छन्। त्यसअघि र पछि पनि उनले शेयर किनेका छन् ।


