ब्याजदर करिडोर प्रभावकारी बनाउन राष्ट्र बैंकको कदम, आजदेखि बैंकहरूले दैनिक रूपमै अधिक तरलता राख्न पाउने

ब्याजदर करिडोर प्रभावकारी बनाउन राष्ट्र बैंकको कदम, आजदेखि बैंकहरूले दैनिक रूपमै अधिक तरलता राख्न पाउने

ट्याक्स खबर
बुधवार, जेठ १३ २०८३
ट्याक्स खबर
बुधवार, जेठ १३ २०८३
  • images

    काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउन महत्त्वपूर्ण नीतिगत सुधार गरेको छ। 

    केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूले अबदेखि प्रत्येक दिन आफूसँग भएको बढी पैसा (अधिक तरलता) राष्ट्र बैंकमा निक्षेपका रूपमा राख्न पाउने व्यवस्था गरेको हो।

    राष्ट्र बैंकले उपलब्ध गराउँदै आएको ‘स्थायी निक्षेप सुविधा’को विद्यमान कार्यविधिमा पुनरावलोकन गर्दै आज बुधबारदेखि लागू हुने गरी यो नयाँ व्यवस्था घोषणा गरेको हो।

    के छ नयाँ व्यवस्थामा?
    नयाँ व्यवस्थाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंक खुला रहने प्रत्येक दिन बैंकिङ कारोबार समयभित्र यो सुविधा प्रयोग गर्न पाउनेछन्। यसरी राखिएको निक्षेपको सावाँ र आर्जित ब्याज रकम भोलिपल्टै अपराह्न ३ बजेपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको खातामा स्वतः जम्मा (क्रेडिट) गरिने राष्ट्र बैंकले जनाएको छ।

    यसअघि राष्ट्र बैंक आफैँले सूचना जारी नगरेसम्म बैंकहरूले पैसा राख्न पाउँदैनथे। अब भने बैंकहरूले आफ्नो आवश्यकताअनुसार हरेक दिन यो सुविधा स्वतः उपयोग गर्न सक्नेछन्।

    नेपालको वित्तीय बजारमा स्थायी निक्षेप सुविधा तुलनात्मक रूपमा नयाँ उपकरण हो। यसअघि राष्ट्र बैंकले यो सुविधा हप्तामा दुई पटक (सामान्यतया आइतबार र बुधबार) मात्र बोलकबोलमार्फत वा निश्चित समयका लागि मात्र खुला गर्ने गरेको थियो ।

    तर, बजारमा ब्याजदरको तीव्र उतारचढावलाई रोक्न र ब्याजदर करिडोरलाई वाञ्छित सीमाभित्र राख्न राष्ट्र बैंकले गत फागुन महिनादेखि नै यसलाई स्थायी प्रकृतिको बनाएको थियो। सोही सुधारको निरन्तरता स्वरूप अहिले यसलाई ुदैनिकु रूपमा उपलब्ध गराउने निर्णय गरिएको हो।

    बैंकिङ प्रणालीमा लामो समयदेखि अधिक तरलता थुप्रिँदा अल्पकालीन ब्याजदरहरू निकै तल ओर्लने जोखिम रहन्छ। राष्ट्र बैंकको यो कदमले बैंकहरूलाई आफ्नो दैनिक तरल पूँजी सुरक्षित र ब्याँज आर्जन हुने गरी केन्द्रीय बैंकमा पार्क गर्ने स्थायी विकल्प दिएको छ। यसले बजारको अन्तर(बैंक ब्याजदरलाई ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल झर्न नदिई वित्तीय स्थायित्व कायम राख्न ठूलो मद्दत पुर्‍याउने अर्थविद्हरूको विश्लेषण छ।

    यो कदम किन चालियो ?
    ब्याजदर करिडोर सफल बनाउनः राष्ट्र बैंकको एउटा नियम छ- बजारको ब्याजदर एउटा निश्चित सीमाभन्दा तल झर्नु हुँदैन। तर बजारमा पैसा धेरै भएपछि बैंकहरूबीचको ब्याजदर एकदमै तल झर्छ। यो नयाँ व्यवस्थाले बजारको ब्याजदरलाई राष्ट्र बैंकले तोकेको न्यूनतम सीमा (तल्लो कोरिडोर) भन्दा तल झर्न दिँदैन।

    बैंकहरूलाई दैनिक व्यवस्थापनमा सहजताः यसअघि हप्ताको दुई दिन मात्र पैसा राख्न पाइने हुँदा अन्य दिनमा बैंकहरूसँग पैसा थुप्रिएर बस्ने तर ब्याज नआउने समस्या थियो। अब हरेक दिन नै बढी भएको पैसा राष्ट्र बैंकमा राखेर ब्याज कमाउने बाटो खुलेको छ।

    तरलता व्यवस्थापनमा आधुनिकताः संसारभरका केन्द्रीय बैंकहरूले बजारमा पैसा बढी वा कम हुने बित्तिकै दैनिक रूपमा यस्ता उपकरण चलाउँछन्। नेपाल राष्ट्र बैंकले पनि आफ्नो प्रणालीलाई अझ परिष्कृत र आधुनिक बनाएको हो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend