काठमाडौँ। नेपाल–चीन संयुक्त साझेदारीमा सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले आगामी जेठ २१ देखि काठमाडौँ र चीनको ‘सिलिकन भ्याली’ मानिने शेन्जेन सहरबीच ऐतिहासिक सिधा उडान सुरु गर्ने भएको छ। नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट यसलाई एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
एअरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ र शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलबीच हाललाई हप्ताको दुई दिन (साप्ताहिक) सिधा उडान सेवा सञ्चालन गर्ने तयारी गरेको हो।
हाल काठमाडौँबाट शेन्जेन उडान जुन ४ देखि जुन ३० सम्म प्रत्येक मङ्गलबार र बिहीबार नेपाली समय राति २१ः५० बजे प्रस्थान गरी भोलिपल्ट बिहान ०४ः३० बजे शेन्जेन पुग्नेछ।
शेन्जेनबाट काठमाडौँ भने जुन ५ देखि जुलाई १ सम्म प्रत्येक बुधबार र शुक्रबार स्थानीय समय बिहान ०५ः५५ बजे प्रस्थान गरी सोही दिन बिहान ०९ः३५ बजे काठमाडौँ आइपुग्नेछ।
काठमाडौँ–शेन्जेन–काठमाडौँ सेक्टरमा मागका आधारमा आगामी दिनमा उडानहरू थप्न सकिने योजना रहेको जनाइएको छ।
पर्यटन र व्यापारिक अवसर बढ्ने अपेक्षा
यो नयाँ हवाई मार्गको सुरुवातसँगै नेपाल र चीनबीचको लामो समयदेखिको द्विपक्षीय सम्बन्ध अझ मजबुत हुने र दुवै देश पर्यटन तथा व्यापारिक अवसरबाट लाभान्वित हुने एअरलाइन्सले अपेक्षा गरेको छ।
हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले चीनमा नयाँ बजार र गन्तव्यहरू खोज्न एअरलाइन्स्को योगदान उल्लेखनीय रहेको बताए। ‘यस उडानले दुई राष्ट्रका नागरिक-नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने हाम्रो उद्देश्यलाई प्रोत्साहन गर्दछ। उच्च सुरक्षा मापदण्ड कायम गर्दै हामी यात्रुहरूलाई नेपाल र चीनको प्राकृतिक सौन्दर्य र विविध अवसरहरूसँग जोड्न तत्पर छौँ,’ उनले भने।
यो उडानका लागि इच्छुक यात्रुहरूले एअरलाइन्स्को टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनरहरू, मोबाइल एप्लिकेसन तथा आधिकारिक वेबसाइटमार्फत् टिकट बुक गर्न सक्नेछन्।
सन् २०१४ मा स्थापित हिमालय एअरलाइन्स् तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र नेपालको यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालिबीचको संयुक्त साझेदारी कम्पनी हो। हाल यस एअरलाइन्स्सँग १८० सीट क्षमताका तीनवटा एयरबस ३२०–२१४ र १४४ सीट क्षमताको एकवटा एयरबस ३१९–११५ गरी कुल ४ वटा विमानहरू छन्।
यसले हाल संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीन जस्ता मध्यपूर्व र दक्षिण एसियाका प्रमुख राष्ट्रहरूमा यात्रुवाहक उडानहरू सञ्चालन गर्दै आएको छ।


