निजामती कर्मचारीलाई अब प्रदेशस्तरमै स्वास्थ्य उपचार सुविधा, वीरगन्ज र चितवनबाट सोमबारदेखि सेवा

निजामती कर्मचारीलाई अब प्रदेशस्तरमै स्वास्थ्य उपचार सुविधा, वीरगन्ज र चितवनबाट सोमबारदेखि सेवा

ट्याक्स खबर
आइतवार, जेठ २४ २०८३
ट्याक्स खबर
आइतवार, जेठ २४ २०८३
  • images

    काठमाडौँ। निजामती कर्मचारीहरूले अब काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै प्रदेश स्तरमै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिभिल अस्पतालको सेवालाई प्रदेशस्तर सम्म विस्तार गर्ने नीति अनुरूप यो व्यवस्था लागू गर्न लागेको हो।

    काठमाडौँ उपत्यकाबाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारहरूको सहजताका लागि प्रदेशमै स्वास्थ्य सेवा पुर्‍याउन लागिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्।

    पहिलो चरणमा वीरगन्ज र चितवनबाट सोमबारदेखि सेवा
    मन्त्रालयका अनुसार निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले प्रदेश अस्पतालहरूसँग सम्झौता प्रक्रिया सुरु भइसकेको छ।

    जसअन्तर्गत पहिलो चरणमा मधेस प्रदेशका लागि नारायणी अस्पताल (वीरगन्ज) र बागमती प्रदेशका लागि भरतपुर अस्पताल (चितवन)मा सोमबारबाट सेवा सुरु हुने छ। 

    मन्त्रालयले आइतबार यी दुई अस्पतालसँग औपचारिक सम्झौता गरिसकेको छ। सम्झौता भएसँगै सोमबारदेखि नै कर्मचारीहरूले काठमाडौँको सिभिल अस्पतालबाट पाउने सरहकै छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा सम्बन्धित अस्पतालहरूबाटै पाउने छन्।

    सेवा लिन आधिकारिक परिचयपत्र अनिवार्य
    प्रदेश स्तरका अस्पतालहरूबाट यो सुविधा लिनका लागि निजामती कर्मचारी वा अवकाशप्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) बाट जारी भएको आफ्नो आधिकारिक परिचयपत्र साथमा प्रस्तुत गर्नु पर्ने मन्त्रालयले जनाएको छ।
    मधेस र बागमती प्रदेश बाहेकका अन्य प्रदेशहरूमा समेत यो सेवा तत्काल विस्तार गर्ने तयारी भइरहेको छ। यसका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग आवश्यक समन्वय भई सेवा प्रदायक अस्पतालहरूको सूचीकरण समेत भइसकेको छ।

    आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अन्तिम चरणमा पुगेकाले अबको केही दिनभित्रै मुलुकका सबै प्रदेशबाट निजामती कर्मचारीहरूले सिभिल अस्पतालले उपलब्ध गराउँदै आएको छुट र सहुलियतसहितको स्वास्थ्य उपचार सेवा आफ्नै पायक पर्ने स्थानबाट लिन सक्ने मन्त्रालयले स्पष्ट पारेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend