काठमाडौँ। नेपाल र भारतबीच हालै सम्पन्न अन्तर्देशीय फन्ड ट्रान्सफर सम्झौतालाई व्यवहारमा उतार्दै एभरेस्ट बैंकले रियल–टाइम क्रस बोर्डर रेमिटेन्स सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। बैंकले आफ्नो मोबाइल बैंकिङ एप इबिएल टच २४ मार्फत यो नवीन डिजिटल सेवा सुरु गरेको हो।
यस सेवासँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्काल रकम आदानप्रदान गर्न सक्नेछन्। यसले परम्परागत रेमिटेन्स प्रणालीको झन्झटलाई हटाई डिजिटल भुक्तानीलाई नयाँ उचाइ दिने विश्वास बैंकले लिएको छ।
नयाँ व्यवस्थापन अनुरूप यो सेवामार्फत रकम पठाउनका लागि निश्चित सीमा निर्धारण गरिएका छन्।
नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५ हजार र मासिक अधिकतम भारु १ लाखसम्म भारत पठाउन सक्नेछन्। त्यस्तै, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु २ लाखसम्म नेपालमा विप्रेषण (रेमिटेन्स) पठाउन सक्नेछन्। यसमा कुनै पनि मासिक सीमा तोकिएको छैन।
नयाँ प्रणाली अन्तर्गत रकम पठाउन बैंक खाता नम्बर आवश्यक पर्ने छैन। दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेसको प्रयोग गरी सजिलै रकम ट्रान्सफर गर्न सक्नेछन्।
साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस आईडी मार्फत सिधै आफ्नो खातामा रकम प्राप्त गर्न सक्ने सुविधा समेत मिलाइएको बैंकले जनाएको छ। यो व्यवस्थाले भारतमा रहेका लाखौँ नेपाली र नेपालमा रहेका भारतीय उद्यमी तथा श्रमिकहरूलाई सुरक्षित रूपमा रकम ओसारपसार गर्न ठूलो राहत पुग्ने देखिन्छ।


