एआई ट्राफिक लाइट र अनिवार्य ट्राफिक प्रशिक्षणमा नाडा–ट्राफिक प्रहरीबीच सहकार्य

एआई ट्राफिक लाइट र अनिवार्य ट्राफिक प्रशिक्षणमा नाडा–ट्राफिक प्रहरीबीच सहकार्य

ट्याक्स खबर
मंगलवार, आषाढ २ २०८३
ट्याक्स खबर
मंगलवार, आषाढ २ २०८३
  • images

    Kageshwori Manohara.jpgकाठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार, सडक सुरक्षा अभिवृद्धि तथा जनचेतना विस्तारका विषयमा विस्तृत छलफल भएको छ।

    नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेसँग भेट गरी ट्राफिक व्यवस्थापनमा संस्थागत सहकार्यका सम्भावित क्षेत्रबारे विचार आदानप्रदान गरेको हो।

    भेटका क्रममा एसएसपी काफ्लेले ट्राफिक व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउन नाडाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए। उनले काठमाडौँ उपत्यकामा बढ्दो सवारी चाप व्यवस्थापनका लागि कृत्रिम बुद्धिमत्ता ९एआई० प्रविधियुक्त ट्राफिक लाइट प्रणाली जडानको पहल गर्न नाडासँग आग्रह गरे।


    त्यस्तै, सवारी साधन खरिद गर्ने नयाँ ग्राहक, सर्भिस सेन्टरमा पुग्ने चालक तथा पहिलो पटक चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने व्यक्तिहरूका लागि ट्राफिक प्रहरी कार्यालयमार्फत करिब एक घण्टाको अनिवार्य ट्राफिक सचेतना तथा अभिमुखीकरण प्रशिक्षण सञ्चालन गर्न सकिने प्रस्ताव पनि उनले अघि सारे।  यस्तो कार्यक्रमले ट्राफिक नियम पालनामा सुधार ल्याउनुका साथै दुर्घटना न्यूनीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

    काफ्लेले विशेषगरी ठूला सिसीका मोटरसाइकलहरू पहाडी तथा लामो दूरीका सडकका लागि उपयुक्त भए पनि काठमाडौँ उपत्यकाभित्रको प्रयोग बढ्दै गएकोप्रति चासो व्यक्त गरे। साथै, मोटरसाइकलको तुलनामा स्कुटरको दुर्घटना दर कम रहेको तथ्यांकले सडक सुरक्षासम्बन्धी थप अध्ययन र सचेतनाको आवश्यकता देखाएको बताए।

    छलफलका क्रममा नाडाका अध्यक्ष उप्रेतीले ट्राफिक प्रहरीसँग विगतदेखि हुँदै आएको सहकार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यसलाई थप प्रभावकारी बनाइने बताए। उनले नाडा आफ्नो स्थापनाको ५०औँ वर्षमा प्रवेश गरेको अवसरमा आगामी असार १३ देखि १९ गतेसम्म स्वर्ण उत्सव सप्ताह मनाउन लागिएको जानकारी दिए।

    उक्त सप्ताहअन्तर्गत राजधानीमा विभिन्न कार्यक्रम आयोजना गरिने तथा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयको सहयोग आवश्यक रहने अध्यक्ष उप्रेतीले बताए। साथै, सडक प्रयोगकर्तामाझ ट्राफिक सचेतना फैलाउने उद्देश्यले स्टिकरमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्ने योजनाबारे पनि जानकारी गराए।

    नाडाका महासचिव मिलनबाबु मल्लले ट्राफिक प्रहरीसँगको सहकार्यलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। भेटवार्तामा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाललगायत पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।

    छलफलले ट्राफिक व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग, चालक सचेतना अभिवृद्धि तथा निजी क्षेत्र र सुरक्षा निकायबीचको सहकार्यलाई नयाँ ढंगले अघि बढाउने आधार तयार गरेको सहभागीहरूले बताएका छन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend