पाँच प्रदेशमा एनसेलको थ्रीजी सेवा बन्द हुँदै, फोरजी-भोल्टेमा स्तरोन्नति गर्न आग्रह

पाँच प्रदेशमा एनसेलको थ्रीजी सेवा बन्द हुँदै, फोरजी-भोल्टेमा स्तरोन्नति गर्न आग्रह

ट्याक्स खबर
सोमवार, आषाढ १५ २०८३
ट्याक्स खबर
सोमवार, आषाढ १५ २०८३
  • images

    काठमाडौं। निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा आगामी असार २२ गतेदेखि थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। कम्पनीले फोरजी सेवाको गुणस्तर थप सुदृढ बनाउने र आधुनिक नेटवर्कमा ग्राहकलाई स्थानान्तरण गर्ने योजनाअनुसार यो निर्णय गरेको जनाएको छ।

    एनसेलका अनुसार कोसी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा सञ्चालनमा रहेको थ्रीजी सेवा असार २२ देखि निष्क्रिय हुनेछ। कम्पनीले अब पुरानो थ्रीजी प्रविधिबाट ग्राहकलाई फोरजी तथा भोल्टे सेवामा स्थानान्तरण गर्ने प्रक्रिया तीव्र बनाउने जनाएको छ।

    कम्पनीले जारी गरेको विज्ञप्तिमा उही शुल्कमा अझ स्पष्ट भ्वाइस कल, छिटो डेटा सेवा र निर्बाध नेटवर्क अनुभवका लागि ग्राहकलाई भोल्टे सेवा सक्रिय गर्न आग्रह गरिएको छ। ग्राहकले मोबाइलबाट 12311# डायल गरेर वा मोबाइलको Settings मा गई VoLTE विकल्प 'On' गरेर सेवा सक्रिय गर्न सक्ने जनाइएको छ।

    एनसेलका अनुसार हाल देशको करिब ९५ प्रतिशत जनसंख्यामा फोरजी नेटवर्कको पहुँच पुगिसकेको छ। थ्रीजी प्रविधि प्रयोग गर्ने ग्राहकको संख्या निरन्तर घट्दै गएकाले उपलब्ध फ्रिक्वेन्सीलाई उच्च गतिको डेटा सेवा विस्तारमा उपयोग गर्न कम्पनीले पुरानो प्रविधि हटाउने रणनीति अपनाएको हो।

    दूरसञ्चार क्षेत्रमा यो प्रवृत्ति एनसेलमा मात्र सीमित छैन। सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि केही समययता क्रमिक रूपमा थ्रीजी सेवा बन्द गर्दै फोरजी विस्तारलाई प्राथमिकता दिँदै आएको छ।

    नेपाल दूरसञ्चार प्राधिकरणको वैशाखसम्मको तथ्यांकअनुसार एनसेलका थ्रीजी ग्राहक ९० हजार ६७१ मात्रै रहेका छन् भने फोरजी ग्राहकको संख्या करिब १ करोड २१ लाख पुगेको छ। नेपाल टेलिकममा थ्रीजी प्रयोगकर्ता ६ लाख ७४ हजार ६७३ र फोरजी ग्राहक करिब १ करोड ४६ लाख छन्।

    थ्रीजी प्रयोगकर्ता उल्लेख्य रूपमा घट्दै जाँदा दूरसञ्चार सेवा प्रदायकहरूले सीमित रेडियो फ्रिक्वेन्सीको प्रभावकारी उपयोग गर्दै उच्च गतिको मोबाइल इन्टरनेट र गुणस्तरीय भ्वाइस सेवा विस्तारका लागि पुराना नेटवर्कलाई आधुनिक फोरजी तथा भोल्टे प्रविधिले प्रतिस्थापन गर्ने अभियानलाई तीव्र बनाएका छन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend