काठमाडौं। ट्राफिक प्रहरीले सवारी साधनमा जडान गरिएका अवैध कालो सिसा (टिन्टेड ग्लास) र कालो स्टिकर हटाउने अभियान सुरु गरेको छ। अभियानको सुरुवात गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठकै सरकारी सवारीबाट कालो स्टिकर हटाएर गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
विद्यमान कानुनी व्यवस्थाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अन्य कुनै पनि विशिष्ट व्यक्ति तथा सर्वसाधारणले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ तथा सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम १२ बमोजिमका सर्त पूरा गरी नियमानुसार धरौटी राखेर अधिकतम २० प्रतिशतसम्म मात्र टिन्टेड ग्लास प्रयोग गर्न पाउने व्यवस्था छ।
गृह मन्त्रालयले सोही कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि देशव्यापी रूपमा कालो स्टिकर हटाउने अभियान अघि बढाइएको जनाएको छ।
गृह मन्त्रालयका अनुसार सवारीमा जडान गरिएका कालो सिसा तथा स्टिकरको दुरुपयोगबाट आपराधिक गतिविधि, अवैध कारोबार, फरार अपराधीको आवागमन, हतियार ओसारपसार तथा शंकास्पद व्यक्तिको पहिचान गर्न कठिनाइ हुने भएकाले यस्तो अभियान सञ्चालन गरिएको हो।
मन्त्रालयले कानुन सबैका लागि समान रूपमा लागू हुने सन्देश दिँदै निर्धारित मापदण्डभन्दा बढी कालो टिन्ट वा स्टिकर प्रयोग नगर्न सबै सवारीधनीलाई आग्रह गरेको छ।


