काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टिको स्तर मापन गर्न वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ सुरु गर्ने भएको छ।
बैंकले जारी गरेको सूचनाअनुसार सर्वेक्षण ७७ वटै जिल्लाका सबै प्रकारका स्थानीय तह समेटेर सञ्चालन गरिनेछ। र्यान्डम स्याम्पलिङ विधिबाट वडा छनोट गरी कुल १० हजार ४०५ वटा नमुना सङ्कलन गरिनेछ।
सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, सेवा गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवाप्रति ग्राहकको धारणा र अनुभव सङ्कलन गरिने राष्ट्र बैंकले जनाएको छ।
सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण, वित्तीय सेवाको गुणस्तर अभिवृद्धि तथा सम्बन्धित नीति, कार्यक्रम र नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बैंकको भनाइ छ।
राष्ट्र बैंकले सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन सबै सरोकारवालासँग यथार्थ र निष्पक्ष जानकारी उपलब्ध गराई तथ्याङ्क सङ्कलन कार्यमा सहयोग गर्न आग्रह गरेको छ।
बैंकका अनुसार सर्वेक्षणमा सहभागिता पूर्ण रूपमा स्वेच्छिक हुनेछ। सहभागीले आफूलाई असहज लागेका प्रश्नको उत्तर दिन अस्वीकार गर्न सक्नेछन्। साथै, सङ्कलित सबै विवरण तथा जानकारी तथ्याङ्क ऐन, २०७९ बमोजिम गोप्य राखिने र केवल सामूहिक तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिने जनाएको छ।
राष्ट्र बैंकले वित्तीय ग्राहक, बैंक तथा वित्तीय संस्था, सम्बन्धित सरोकारवाला निकाय तथा आम सर्वसाधारणलाई सर्वेक्षण सफल बनाउन आवश्यक सहयोग र सहकार्य गर्न अनुरोध गरेको छ। थप जानकारीका लागि वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखामा सम्पर्क गर्न सकिने जनाइएको छ।


