काठमाडौं। नेपाल आयल निगमले देशभरका पेट्रोलपम्पको नियमन थप कडा बनाउँदै बिना उचित कारण पम्प बन्द गरेर इन्धन अभावको अवस्था सिर्जना गर्ने व्यवसायीलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ।
निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै पेट्रोलपम्पले नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नहुनेु व्यवस्था थपेको हो।
यो निर्णय मंगलबार पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमानमा निगमको डिपोबाट इन्धन नउठाउँदा बुधबार देशभर इन्धन आपूर्तिमा असहज अवस्था सिर्जना भएपछि गरिएको हो। त्यतिबेला अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति अवरुद्ध गर्ने व्यवसायीमाथि कारबाही गर्न स्पष्ट कानुनी आधार नभएको निष्कर्ष निकालिएको थियो।
त्यसपछि नेपाल आयल निगमको सञ्चालक समिति बैठक बसेर विनियमावली संशोधन गरिएको हो।
संशोधित व्यवस्थाअनुसार पहिलो पटक कसुर गरे ३ लाख रुपैयाँ जरिवाना र ५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का गरिनेछ। दोस्रो पटक ६ लाख रुपैयाँ जरिवानासँगै १० दिन आपूर्ति बन्द गरिनेछ भने तेस्रो पटक १० लाख रुपैयाँ जरिवानासहित १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थासँगै अब उचित कारणबिना पेट्रोलपम्प बन्द गरेर कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि कानुनी कारबाही हुने सुनिश्चित भएको निगमले जनाएको छ।


