काठमाडौं। नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच दुईवटा आयोजना तथा कार्यक्रमका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ।
ुएकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रगत) आयोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा लजिष्टिक्स सुधार कार्यक्रम– उपकार्यक्रम २ का लागि सोमबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।
अर्थमन्त्री डा स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाको विशेष उपस्थितिमा उक्त ऋण सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव डा घनश्याम उपाध्याय र एसियाली विकास बैंकको तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरे।
कुन आयोजनाका लागि कति रकम?
हस्ताक्षरित सम्झौता अनुसार कुल १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण नेपालले प्राप्त गर्नेछ।
एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण परिचालन हुनेछ। यो सहायता रकम स्थानीय तहहरूमा खानेपानी र ढल व्यवस्थापनको एकीकृत पूर्वाधार निर्माणका लागि उपयोग गरिनेछ।
त्यस्तै, लजिष्टिक्स सुधार कार्यक्रम (उपकार्यक्रम २) अन्तर्गत ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्राप्त हुनेछ। यो रकम भन्सार कार्यप्रक्रिया र लजिष्टिक्स सेवा आधुनिकीकरणमा गरिएका सुधारबापत बजेटरी सहायताको रूपमा परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ।
अर्थमन्त्री वाग्लेले नेपालको आर्थिक र सामाजिक विकासमा एसियाली विकास बैंकले पुर्याउँदै आएको सहायताको उच्च मूल्यांकन गरे। उनले आगामी दिनमा नेपाल र एडिबीबीचको यो साझेदारी अझ सुदृढ र प्रगाढ बन्दै जाने विश्वास समेत व्यक्त गरे।
एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाले नेपाल र एडिबीबीचको ६ दशक लामो सहकार्यलाई निरन्तरता दिँदै यसलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। नेपालले वर्तमान समयमा सामना गरिरहेका बाह्य तथा आन्तरिक आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न बैंक सँधै सहयोगी रहने उल्लेख गर्दै अध्यक्ष कान्डाले नेपालका विकास प्राथमिकताहरूसँग बैंकको रणनीति र प्राथमिकता मेल खाएको स्पष्ट पारे।


