मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा, बुटवल–कोहलपुरसम्मको विद्युत् प्रणाली थप भरपर्दो हुने

मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा, बुटवल–कोहलपुरसम्मको विद्युत् प्रणाली थप भरपर्दो हुने

ट्याक्स खबर
शनिवार, आषाढ २७ २०८३
ट्याक्स खबर
शनिवार, आषाढ २७ २०८३
  • images

    काठमाडौं। लामो समयदेखि अवरुद्ध रहेको मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइन शनिबार दिउँसो ३ बजेदेखि सञ्चालनमा आएको छ। प्रसारण लाइनबाट सफलतापूर्वक विद्युत् प्रवाह सुरु भएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

    मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तनहुँको आँबुखैरेनीस्थित मार्कीचोक (न्यू मस्र्याङ्दी सबस्टेसन) देखि चितवनको भरतपुर महानगरपालिका–आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म करिब ६७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो। तर मार्कीचोक क्षेत्रमा एउटा टावर निर्माण हुन नसक्दा लामो समयदेखि लाइन सञ्चालनमा आउन सकेको थिएन।

    गत असार ६ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले स्थलगत निरीक्षण गरी स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन र आयोजना पक्षबीच समन्वय गरेर अवरोध हटाउने पहल गरेका थिए। त्यसपछि टावर निर्माण सम्पन्न भएसँगै प्रसारण लाइन सञ्चालनमा आएको हो।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार लाइन सञ्चालनमा आएपछि यस क्षेत्रमा बारम्बार हुने ट्रिपिङ तथा 'झ्यापझ्याप' बत्ती जाने समस्या उल्लेखनीय रूपमा घट्नेछ। साथै, विद्युत् प्रसारण प्रणालीको विश्वसनीयता र विद्युत् आपूर्तिको गुणस्तरमा पनि सुधार आउने अपेक्षा गरिएको छ।

    ऊर्जा मन्त्री श्रेष्ठले बर्खायाममा मस्र्याङ्दी करिडोरका निजी क्षेत्रका जलविद्युत् आयोजनाले उत्पादन गर्ने सम्पूर्ण विद्युत् अब भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न सकिने बताए। प्रसारण क्षमताको अभावका कारण यसअघि कम क्षमतामा सञ्चालन गर्न बाध्य आयोजनाहरूलाई पनि यसबाट राहत पुग्ने उनको भनाइ छ।

    उनले सरकार र निजी क्षेत्रको सहकार्यबाट उत्पादन भएको स्वच्छ ऊर्जालाई राष्ट्रिय प्रणालीमा थप प्रभावकारी रूपमा समाहित गर्न यो आयोजना महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसले नेपालको ऊर्जा आत्मनिर्भरता र ऊर्जा सुरक्षालाई थप सुदृढ बनाउने बताए।

    युरोपेली विकास साझेदारको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको यो प्रसारण लाइन सञ्चालनमा आएसँगै मस्र्याङ्दी करिडोरका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह हुने र समग्र विद्युत् प्रणाली अझ विश्वसनीय बन्ने अपेक्षा गरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend