काठमाडौं। देशको अर्थतन्त्रको मुख्य खम्बाको रूपमा रहेको विप्रेषण आप्रवाह (रेमिट्यान्स)मा चालु आर्थिक वर्षको ११ महिनामा उल्लेख्य सुधार आएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार समीक्षा अवधिमा रेमिट्यान्स नेपाली रुपैयाँ र अमेरिकी डलर दुवैमा उच्च दरले बढेको छ।
चालु आर्थिक वर्षको ११ महिनामा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर १५.६ प्रतिशत मात्र रहेको थियो।
जेठ महिनाको मात्रै तथ्यांक हेर्ने हो भने एक महिनामा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको जेठ महिना (१ खर्ब ७६ अर्ब ३२ करोड)को तुलनामा करिब साढे २७ अर्ब रुपैयाँले बढी हो।
अमेरिकी डलरमा पनि रेमिट्यान्सको वृद्धिदर उत्साहजनक छ। समीक्षा अवधिमा डलरमा रेमिट्यान्स २९.६ प्रतिशतले बढेर १४ अर्ब ५९ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले मात्र बढेको थियो। यस्तै, देश भित्रिने खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि १६ खर्ब ६९ अर्ब ५१ करोडबाट बढेर २३ खर्ब २१ अर्ब ७ करोड पुगेको छ।
वैदेशिक रोजगारीः नयाँ घट्दा पुनः श्रम स्वीकृति लिने बढे
रेमिट्यान्समा उच्च वृद्धि देखिए पनि वैदेशिक रोजगारीमा जाने नयाँ नेपालीहरूको संख्यामा भने गिरावट आएको छ।
राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ६७ हजार २११ रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४ लाख ५२ हजार ३२४ को तुलनामा कम हो।
यद्यपि, सोही अवधिमा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने बढेर ३ लाख ५५ हजार ७३५ पुगेको छ। अघिल्लो वर्षको ११ महिनामा पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ मात्र रहेको थियो।


