काठमाडौं। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार १ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
यसअघि मंगलबार मात्र राष्ट्र बैंकले बोलकबोलमार्फत १५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गरेको थियो। त्यसको भोलिपल्टै थप १ खर्ब रुपैयाँ निक्षेप संकलनको घोषणा गरिएको हो।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै ९१ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत १ खर्ब रुपैयाँ तान्न लागेको जनाएको हो। बोलकबोल बुधबार दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत हुने र सोही दिन उपकरण निष्कासन गरिनेछ।
यस निक्षेप संकलनको साँवा तथा ब्याज असोज २८ गते भुक्तानी गरिनेछ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।
राष्ट्र बैंकका अनुसार न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सकिनेछ। यसमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।
बोलकबोलमा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर रकम बाँडफाँड गरिनेछ। समान ब्याजदरमा माग बढी भए अनुपातिक रूपमा बाँडफाँड गरिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले आवश्यक ठाने सम्पूर्ण वा आंशिक बोल अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने पनि जनाएको छ।
बैंकिङ प्रणालीमा पछिल्लो समय अत्यधिक तरलता थुप्रिँदै गएपछि राष्ट्र बैंकले खुला बजार कारोबारमार्फत नियमित रूपमा बजारबाट रकम तान्ने नीति अपनाइरहेको छ।


