काठमाडौं। सामाजिक सुरक्षा कोष (एसएसएफ)ले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बचत तथा सापटी (ऋण) दुवैको ब्याजदर घटाएको छ। सञ्चालक समितिको निर्णयअनुसार नयाँ ब्याजदर साउन १ गतेदेखि लागू भइसकेको हो।
नयाँ व्यवस्थाअनुसार योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजना तथा संस्थागत एवं व्यक्तिगत अवकाश कोषमा जम्मा गरेको रकममा अब वार्षिक ३.२ प्रतिशत ब्याज प्राप्त गर्नेछन्।
गत आर्थिक वर्ष २०८२/८३ मा वृद्धावस्था सुरक्षा योजनामा सुरुमा ४ प्रतिशत र पछि ३.६ ब्याज प्रदान गरिएको थियो। यससँगै बचतमा प्राप्त हुने प्रतिफल घटेको छ।
कोषबाट प्रवाह हुने विभिन्न सापटीको ब्याजदर पनि घटाइएकाले ऋण लिने योगदानकर्ताले राहत पाउने भएका छन्। विशेष सापटीको ब्याजदर ५.२० प्रतिशतबाट ४.७ प्रतिशत मा झारिएको छ भने घर, शैक्षिक तथा सामाजिक कार्य सापटीको ब्याजदर ५.८४ प्रतिशतबाट ५.५ प्रतिशत कायम गरिएको छ।
कोषले सापटीको किस्ता समयमै भुक्तानी नगरेमा लाग्ने हर्जना ब्याजदर भने यथावत राखेको छ। म्याद नाघेको किस्तामा यसअघि झैँ वार्षिक १ प्रतिशत अतिरिक्त हर्जना ब्याज लाग्ने व्यवस्था कायम रहनेछ।
कोषको यो निर्णयसँगै बचतकर्ताले पाउने ब्याज आम्दानी केही घट्ने भए पनि कोषबाट ऋण लिने योगदानकर्ताले कम ब्याजदरका कारण राहत पाउने अपेक्षा गरिएको छ। वित्तीय बजारको अवस्था, लगानी प्रतिफल र तरलताको अवस्थालाई मध्यनजर गर्दै ब्याजदर समायोजन गरिएको कोषको भनाइ छ।
घडेरी किन्न ऋण पाइने, ब्याजदर ५.७ प्रतिशत मात्रै
सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताहरूका लागि आकर्षक ब्याजदरमा घडेरी ऋण उपलब्ध हुने भएको छ। कोषले आर्थिक वर्ष २०८३/८४ का लागि घडेरी सापटीको ब्याजदर वार्षिक ५.७ प्रतिशत मात्रै कायम गरेको छ।
पछिल्लो व्यवस्था अनुसार कोषमा आबद्ध योगदानकर्ताहरूले घर तथा घडेरी खरिदका लागि १ करोड रुपैयाँसम्म ऋण सुबिधा प्राप्त गर्न सक्नेछन्। यो सस्तो ब्याजदर र सहज सीमाले आफ्नै घर(घडेरी जोड्न चाहने श्रमजीवी वर्गलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।


