काठमाडौं। एनएमबी बैंक लिमिटेडले ग्राहकहरूको स्थानीय पहिचानलाई प्राथमिकता दिँदै सातै प्रदेशका लागि छुट्टाछुट्टै नाममा ‘प्रदेश बचत खाता’ योजना सार्वजनिक गरेको छ। बैंकले प्रदेशअनुसार पहिचान झल्किने सात प्रकारका बचत खाता सञ्चालनमा ल्याएको हो।
योजनाअन्तर्गत कोशीका लागि कोशी बचत खाता, मधेसका लागि मिथिला बचत खाता, बागमतीका लागि बागमती बचत खाता, गण्डकीका लागि फेवा बचत खाता, लुम्बिनीका लागि बुद्धभूमि बचत खाता, कर्णालीका लागि रारा बचत खाता र सुदूरपश्चिमका लागि खप्तड बचत खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
डिजिटल बैंकिङ र बचत संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको योजनामा खाता खोल्ने ग्राहकले पहिलो वर्ष मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, डिम्याट खाता र मेरोसेयर दर्ता सेवा निःशुल्क पाउनेछन्।
बैंकका अनुसार यस योजनाले स्थानीय पहिचानसँगै आधुनिक बैंकिङ सेवा सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
हाल एनएमबी बैंकले देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


