काठमाडौं। नेपालमा उमेरमैत्री (एज(फ्रेन्ड्ली)हवाई सेवा विकास गर्न हिमालय एअरलाइन्सले संयुक्त राष्ट्रसंघीय निकाय र अन्तर्राष्ट्रिय उड्डयन विज्ञहरूसँग संवाद सुरु गरेको छ।
कम्पनीले ज्येष्ठ नागरिकका लागि हवाई यात्रालाई थप सहज, पहुँचयोग्य र सम्मानजनक बनाउने उद्देश्यसहित उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसँग छलफल गरेको हो।
हिमालय एअरलाइन्सले जुलाई २४ मा आफ्नो प्रधान कार्यालयमा ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय उमेरमैत्री हवाई सेवाका विषयमा अन्तरक्रिया गरेको जनाएको छ।
प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय अन्तर्गत ज्येष्ठ नागरिक अधिकार शाखाकी प्रमुख डा चित्रलेखा मास्सी, अन्तर्राष्ट्रिय उड्डयन नवप्रवर्तन संस्थाका संयुक्त राष्ट्रसंघ जिनेभा कार्यालय तथा युरोपेली संघसम्बन्धी निर्देशक चाइ शुआई र संयुक्त राष्ट्रसंघ सचिवालयका ज्येष्ठ नागरिक अधिकार अधिकृत चेन केजियान सहभागी थिए।
छलफलमा ज्येष्ठ यात्रुले हवाई यात्रा गर्दा भोग्ने चुनौती, ती चुनौती न्यूनीकरण गर्ने उपाय तथा एयरलाइन्सले दिन सक्ने अतिरिक्त सेवाबारे विचार आदान–प्रदान भएको थियो। हिमालय एअरलाइन्सले आफूले हाल उपलब्ध गराइरहेका सेवा तथा भविष्यमा लागू गर्न चाहेका उमेरमैत्री योजनाबारे पनि जानकारी गराएको जनाएको छ।
संयुक्त राष्ट्रसंघकी प्रतिनिधि डा मास्सीले विश्वका विभिन्न मुलुकमा अपनाइएका उमेरमैत्री अभ्यासबारे जानकारी दिँदै हवाई उड्डयन क्षेत्रमा समावेशी सेवा विस्तार गर्न अन्तर्राष्ट्रिय सहकार्य र अनुभव आदान–प्रदान आवश्यक रहेको बताइन्। उनले यस क्षेत्रमा आवश्यक प्राविधिक ज्ञान र विशेषज्ञता उपलब्ध गराउन प्रतिनिधिमण्डल तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरिन्।
हिमालय एअरलाइन्सका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले कम्पनीले उमेरका आधारमा कुनै पनि यात्रुमाथि विभेद नगर्ने नीति लिएको उल्लेख गर्दै प्रत्येक यात्रुले सम्मानजनक र सहज यात्रा अनुभव गर्न पाउनुपर्नेमा जोड दिए। अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसँगको संवादले यात्रुकेन्द्रित र समावेशी हवाई सेवा विकासमा थप सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।
विश्वका धेरै मुलुकमा विमानस्थल र एयरलाइन्सहरूले ज्येष्ठ नागरिकका लागि विशेष सहायता, सहज बोर्डिङ, पहुँचमैत्री पूर्वाधार तथा व्यक्तिगत सहयोगजस्ता सेवा विस्तार गरिरहेका बेला हिमालय एअरलाइन्सको यो पहल नेपालमा पनि उमेरमैत्री हवाई सेवालाई संस्थागत रूपमा अघि बढाउने प्रारम्भिक कदमका रूपमा हेरिएको छ।


