काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सप्तरीमा नयाँ सबस्टेसन सञ्चालनमा ल्याएसँगै करिब १५ हजार उपभोक्ताले वर्षौंदेखि भोग्दै आएको कम भोल्टेज र बारम्बार विद्युत् अवरुद्ध हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ।
प्राधिकरणले सप्तरीको खड्क नगरपालिकाको पनसेरामा निर्माण गरेको ३३/११ केभी, ६/८ एमभीए क्षमताको सबस्टेसन बुधबार साँझदेखि सञ्चालनमा आएको हो। करिब १२ करोड रुपैयाँ लागतमा सम्पन्न आयोजनाअन्तर्गत १० किलोमिटर लामो ११ केभी वितरण लाइन पनि निर्माण गरिएको छ।
नयाँ सबस्टेसन सञ्चालनमा आएपछि खड्क नगरपालिका र सुरुंगा नगरपालिकाका कदमाहा, लालपट्टा, कल्याणपुर लगायतका क्षेत्रका करिब १५ हजार उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार यसअघि ती क्षेत्रमा देखिँदै आएको कम भोल्टेज, लाइन पटकपटक ट्रिप हुने तथा विद्युत् आपूर्तिमा आउने अवरोध उल्लेखनीय रूपमा घट्नेछ। नयाँ पूर्वाधारले भोल्टेज प्रोफाइल सुधार गरी घरायसी उपभोक्तासँगै व्यापार र साना उद्योगलाई पनि थप भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मधेश प्रदेशमा विद्युत् वितरण प्रणाली सुदृढ बनाउन यो महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनले सरकारको प्राथमिकता केवल विद्युत् उत्पादन बढाउने मात्र नभई उत्पादित विद्युत् प्रत्येक घर, उद्योग र व्यवसायसम्म गुणस्तरीय तथा भरपर्दो रूपमा पुर्याउने रहेको उल्लेख गरे।


