स्थानीयको सेयरमा ‘प्रिमियम’ बहसः इप्पानले प्रवर्द्धकलाई भन्यो– प्रतिकित्ता १०० रुपैयाँमै आईपीओ दिनू

स्थानीयको सेयरमा ‘प्रिमियम’ बहसः इप्पानले प्रवर्द्धकलाई भन्यो– प्रतिकित्ता १०० रुपैयाँमै आईपीओ दिनू

सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • images

    काठमाडौं। केही जलविद्युत् आयोजनाको आईपीओ निष्कासन प्रक्रिया नियामकीय जटिलताका कारण लामो समयदेखि रोकिँदा स्थानीय प्रभावित बासिन्दालाई प्रिमियम मूल्यमा सेयर बिक्री गर्ने विकल्पबारे केही प्रवर्द्धक कम्पनीबीच छलफल सुरु भएको पृष्ठभूमिमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान०ले यस्तो अभ्यास नगर्न आग्रह गरेको छ।

    इप्पानले विज्ञप्ति जारी गर्दै जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइने सेयर अनिवार्य रूपमा अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराइनुपर्ने स्पष्ट गरेको हो।

    इप्पानका अनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ९ को उपनियम (४) ले स्थानीय प्रभावित समुदायलाई लाभान्वित गराउने उद्देश्यले १० प्रतिशत सेयर छुट्याउने कानुनी व्यवस्था गरेको छ। त्यसैले सबै सदस्य कम्पनीहरूले यही व्यवस्था पालना गर्न संस्था आग्रह गरेको छ।

    संस्थाले जलविद्युत् आयोजना केवल लगानीको माध्यम नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकासको अभियान भएको उल्लेख गरेको छ। आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव बेहोर्ने तथा निर्माण अवधिको असुविधा सहने स्थानीय समुदायलाई स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीय सेयरको व्यवस्था गरिएको इप्पानको भनाइ छ।

    विज्ञप्तिमा स्थानीयका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा निष्काशन गरिए उनीहरूको पहुँच सीमित हुने, आयोजनाप्रति अपनत्वको भावना कमजोर बन्ने र वर्षौंदेखि निर्माण भएको समुदाय–आयोजना सम्बन्धमा नकारात्मक असर पर्न सक्ने चेतावनी दिइएको छ।

    इप्पानले अंकित मूल्यमा सेयर उपलब्ध गराउँदा स्थानीय समुदाय आयोजना प्रति वास्तविक साझेदार बन्ने, सामाजिक विवाद तथा अवरोध कम हुने, आयोजना निर्माण र सञ्चालनमा सहकार्य बढ्ने तथा जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न सहज वातावरण बन्ने विश्वास व्यक्त गरेको छ। यसले स्थानीय समुदायको आर्थिक सशक्तीकरण, स्थानीय विकास र सामाजिक सद्भावमा समेत दीर्घकालीन योगदान पुग्ने संस्थाको दाबी छ।

    त्यसैले नेपाल सरकार, नियामक निकाय र सबै प्रवर्द्धक कम्पनीहरूले स्थानीय प्रभावित बासिन्दाको हितलाई प्राथमिकतामा राख्दै स्थानीयका लागि छुट्याइने सेयर प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउने नीति निरन्तर कायम राख्न इप्पानले आग्रह गरेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend