काठमाडौं। नेपाल लिकर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अभिनशवीर सिंह तुलाधर सिंगापुरमा आयोजित ‘एशिया बिजनेस लिडर्स अवार्ड्स’ मा प्रतिष्ठित ‘सिइओ अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन्।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार तुलाधरलाई नेतृत्व क्षमता, रणनीतिक नवप्रवर्तन तथा उद्योग क्षेत्रमा पुर्याएको रूपान्तरणकारी योगदानको मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो। कम्पनीले यस उपलब्धिलाई नेपाल लिकर्स मात्र नभई समग्र नेपाली निजी क्षेत्रका लागि पनि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेको छ।
नेपाल लिकर्समा यसअघि डाइरेक्टर अफ अपरेसन्सको जिम्मेवारी सम्हालेका तुलाधर पछि कम्पनीको सिइओ नियुक्त भएका थिए। कम्पनीका अनुसार उनले अन्तर्राष्ट्रिय शैक्षिक अनुभव र व्यावहारिक व्यवस्थापकीय अनुभवलाई संयोजन गर्दै कम्पनीको व्यवसाय विस्तार, नवप्रवर्तन र संस्थागत रूपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
तुलाधरले अमेरिकाको युनिभर्सिटी अफ रिचमण्ड र फ्रान्सको ईएसएसईसी बिजनेस स्कूलबाट उच्च शिक्षा हासिल गरेका छन्। कम्पनीका अनुसार उनले संस्थागत विरासतलाई आधुनिक व्यवस्थापनसँग जोड्दै बजारमा नयाँ गतिशीलता सिर्जना गरेका छन्।
अवार्ड ग्रहणपछि तुलाधरले यो सम्मान व्यक्तिगत नभई नेपाल लिकर्स परिवारको सामूहिक मेहनतको परिणाम भएको बताए। उनले कम्पनीका संस्थापक स्वर्गीय भक्तवीर सिंह तुलाधरको दूरदृष्टि, परिवारको साथ र सम्पूर्ण कर्मचारीको समर्पणप्रति आभार व्यक्त गर्दै नेपाल लिकर्सलाई अझ नयाँ उचाइमा पुर्याउन प्रतिबद्ध रहेको बताए।
विस २०३६ मा स्थापना भएको नेपाल लिकर्स प्रालि नेपालमा मदिराजन्य पेय पदार्थ उत्पादन, मिश्रण र वितरण गर्ने कम्पनी हो। कम्पनी अन्तर्राष्ट्रिय ब्रान्ड डियाजियोको फ्रेन्चाइज पार्टनरका रूपमा सिग्नेचर ह्विस्की र स्मिरनोफ भोडकालगायत ब्रान्ड उत्पादन तथा वितरण गर्दै आएको जनाएको छ।


