काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनुगमनबाट मापदण्डअनुसार सञ्चालनमा रहेको पाइएको १८३ वटा होस्टेललाई दर्ता गर्ने निर्णय गरेको छ। महानगरले विद्यार्थीको सुरक्षा, स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै होस्टेल सञ्चालनमा कडाइसमेत गर्ने भएको छ।
बिहीबार कार्यवाहक प्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले यसअघि अनुगमन गरिएका होस्टेललाई शिक्षा विभागमार्फत दर्ता गर्ने र अनुगमन हुन बाँकी होस्टेललाई सम्बन्धित वडाबाट अनुगमन गरी वडामै दर्ता गर्ने निर्णय गरेको हो।
महानगरको शिक्षा विभागले गत वैशाख १४ गतेदेखि पाँच टोली बनाएर होस्टेलको अनुगमन गर्दै आएको थियो। मापदण्ड, सेवा, गुणस्तर र सुरक्षा अवस्थाका आधारमा ३०० पूर्णाङ्कका सूचक बनाएर गरिएको अनुगमनमा कम्तीमा १२० अंक प्राप्त गर्ने होस्टेललाई दर्ता प्रक्रियामा लैजाने निर्णय गरिएको छ। तोकिएको अंक नपुगेका होस्टेललाई भने सुधारका लागि समय दिइनेछ।
कार्यवाहक प्रमुख डंगोलले राम्रो सञ्चालन भएका होस्टेललाई प्रोत्साहन गर्ने र सुधार गर्न चाहनेलाई त्यसका लागि वातावरण बनाउने बताइन्। उनले मापदण्ड पूरा गरेका होस्टेललाई स्तरीकरण गरी त्यसलाई शुल्कसँग समेत जोड्न सकिने धारणा राखिन्।
१० सर्त अनिवार्य
महानगरले विद्यार्थीको सुरक्षा, स्वास्थ्य र सुविधालाई केन्द्रमा राख्दै होस्टेलका लागि १० वटा विषयलाई अनिवार्य सर्तका रूपमा लागू गर्ने भएको छ।
न्यूनतम मापदण्डअनुसार प्रत्येक १० जना विद्यार्थीका लागि कम्तीमा एउटा शौचालय हुनुपर्नेछ। एउटै सञ्चालकले एउटै स्थानमा छात्र र छात्राका लागि होस्टेल सञ्चालन गर्न पाउने छैन। छुट्टाछुट्टै सञ्चालन गर्दा दुई भवनबीच कम्तीमा २०० मिटर दूरी कायम गर्नुपर्नेछ।
सुरक्षाका लागि कोठा र शौचालयबाहेकका सार्वजनिक क्षेत्रमा सीसीटीभी जडान गर्नुपर्नेछ। अग्नि नियन्त्रण उपकरण र आपत्कालीन अवस्थामा बाहिर निस्कने व्यवस्था पनि अनिवार्य गरिएको छ।
त्यस्तै भान्सा र शौचालयबीच पर्याप्त दूरी हुनुपर्ने, चौबीसै घण्टा पानी तथा बिजुलीको वैकल्पिक व्यवस्था हुनुपर्ने र कुनै पनि अवस्थामा बालश्रमिक राख्न नपाइने व्यवस्था गरिएको छ।
‘१५ हजारभन्दा बढी होस्टेल’
बैठकमा होस्टेल व्यवसायी संघका प्रतिनिधिले दर्ता नगरी सञ्चालन भइरहेका होस्टेलका कारण मापदण्ड पूरा गरेर सञ्चालनमा रहेका व्यवसायीसमेत समस्यामा परेको गुनासो गरेका छन्।
उनीहरूले कतिपय होस्टेल मादक पदार्थ सेवन र लागूऔषध दुव्र्यसनको अखडासमेत बनेको भन्दै त्यस्ता गतिविधिले व्यवस्थित रूपमा सञ्चालन भएका होस्टेलको समेत बदनाम भइरहेको बताए।
“जसले पनि र दर्ता नगरी पनि होस्टेल सञ्चालन गर्न पाउनुपर्छ भन्नेमा हामी पनि छैनौँ,” व्यवसायी प्रतिनिधिको भनाइ थियो।
व्यवसायीका अनुसार काठमाडौँ उपत्यकाभित्र मात्रै १५ हजारभन्दा बढी होस्टेल सञ्चालनमा छन्। महानगरको अनुगमन र दर्ता प्रक्रियाले अव्यवस्थित रूपमा सञ्चालित होस्टेललाई नियन्त्रण गर्दै विद्यार्थीका लागि सुरक्षित र मर्यादित वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
बैठकमा होस्टेलभित्र देखिएका विकृति, विद्यार्थीको सुरक्षा तथा सहरी व्यवस्थापनमा होस्टेल व्यवसायले पारिरहेको प्रभावका विषयमा समेत छलफल भएको थियो।


