काठमाडौं। नेपालका लघुवित्त वित्तीय संस्थाहरूको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणले नाफा र लाभांश क्षमतामा सुधार देखिएकाे छ। तर कर्जा गुणस्तरमा संस्थाबीच ठूलो अन्तर रहेको देखाएको छ।
अपरिष्कृत वित्तीय विवरणअनुसार केही लघुवित्तले उच्च मुनाफा र आकर्षक प्रतिशेयर आम्दानी हासिल गरेका छन् भने केही संस्थाको निष्क्रिय कर्जा (एनपीएल) २० प्रतिशतभन्दा माथि पुगेको छ।
नाफामा छिमेक अगाडि
खुद मुनाफाका आधारमा छिमेक लघुवित्त वित्तीय संस्था सबैभन्दा अगाडि देखिएको छ। संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २९ करोड ८९ लाख ६५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ।
त्यसपछि जीवन विकास लघुवित्तले १ अर्ब ८ करोड २२ लाख २४ हजार, डिप्रोक्स लघुवित्तले ९८ करोड ९४ लाख ४३ हजार, नेशनल लघुवित्तले ८९ करोड १३ लाख ३ हजार र साना किसान विकास लघुवित्तले ६५ करोड ३१ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन्।
यसले ठूला तथा स्थापित लघुवित्त संस्थाहरूको कमाइ क्षमता तुलनात्मक रूपमा बलियो रहेको देखाउँछ।
लाभांश क्षमतामा जीवन विकास अगाडि
लगानीकर्ताको दृष्टिले महत्त्वपूर्ण मानिने लाभांश क्षमतामा भने जीवन विकास लघुवित्त शीर्ष स्थानमा छ। संस्थाको लाभांश क्षमता ८०.०४ प्रतिशत रहेको छ।
नेसडो समृद्धि लघुवित्त ६९.१७ प्रतिशत, छिमेक लघुवित्त ५९.७२ प्रतिशत, ग्लोबल आइएमई लघुवित्त ५९.१६ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्स ५०.७८ प्रतिशत र स्वाभिमान लघुवित्त ५०.६२ प्रतिशत लाभांश क्षमतासहित अगाडि छन्।
यद्यपि लाभांश क्षमता उच्च हुनु मात्रै लगानीकर्ताका लागि पर्याप्त सूचक भने होइन। संस्थाको कर्जा गुणस्तर, पूँजी पर्याप्तता, खराब कर्जा र भविष्यको आम्दानी क्षमतालाई समेत सँगै हेर्नुपर्ने हुन्छ।
इपिएसमा सीवाईसीको छलाङ
प्रतिशेयर आम्दानी (इपिएस) मा भने सीवाईसी नेपाल लघुवित्तले अन्य संस्थालाई पछि पारेको छ। संस्थाको इपिएस ११०.६६ रुपैयाँ पुगेको छ।
ग्लोबल आइएमई लघुवित्तको ६१.८७ रुपैयाँ, जीवन विकासको ६१.८० रुपैयाँ, नेशनल लघुवित्तको ५८.५९ रुपैयाँ, अभियान लघुवित्तको ५७.०४ रुपैयाँ र सपोर्ट माइक्रोफाइनान्सको ५६.८२ रुपैयाँ इपिएस छ।
यसको विपरीत मेरो माइक्रोफाइनान्सको इपिएस ८.४७ रुपैयाँ र वेन नेपाल लघुवित्तको ९.८९ रुपैयाँ रहेको छ।
सबैभन्दा ठूलो चुनौती खराब कर्जा
लघुवित्त क्षेत्रको वित्तीय स्वास्थ्यमा भने निष्क्रिय कर्जा सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ। संस्थाहरूबीच एनपीएलको अवस्था अत्यन्त फरक छ।
सपोर्ट माइक्रोफाइनान्सको एनपीएल २.१६ प्रतिशत, छिमेकको २.३० प्रतिशत, फर्स्ट माइक्रोफाइनान्सको २.८८ प्रतिशत, साना किसान विकास लघुवित्तको २.९६ प्रतिशत र आरएसडीसी लघुवित्तको ३.९२ प्रतिशत रहेको छ।
तर केही संस्थामा खराब कर्जाको अवस्था गम्भीर देखिएको छ। नेसडो समृद्धिको एनपीएल २०.६६ प्रतिशत पुगेको छ। धौलागिरी लघुवित्तको २०.५२ प्रतिशत, नेरुडे मिर्मिरेको १९.८६ प्रतिशत, युनिक नेपालको १९.४३ प्रतिशत, विजय लघुवित्तको १७.३७ प्रतिशत र मेरो माइक्रोफाइनान्सको १७.३२ प्रतिशत एनपीएल रहेको छ।
नाफाभन्दा कर्जा असुली महत्वपूर्ण
चौथो त्रैमासिक विवरणले लघुवित्त क्षेत्रमा केवल नाफा बढ्नु मात्रै पर्याप्त नहुने संकेत गरेको छ। उच्च एनपीएल भएका संस्थाले कर्जा असुली सुधार गर्न नसके त्यसको प्रभाव आगामी अवधिको नाफा, लाभांश क्षमता र पूँजीमा पर्न सक्छ।
त्यसैले लघुवित्तको वित्तीय अवस्था मूल्यांकन गर्दा खुद नाफा, इपिएस र लाभांश क्षमता मात्रै होइन, निष्क्रिय कर्जा र कर्जा पोर्टफोलियोको गुणस्तरलाई समेत प्रमुख सूचकका रूपमा हेर्नुपर्ने देखिएको छ।
समग्रमा छिमेक, जीवन विकास, डिप्रोक्स, नेशनल र साना किसानजस्ता संस्थाले मुनाफामा बलियो प्रदर्शन गरेका छन् भने जीवन विकास र सीवाईसी नेपालले क्रमशः लाभांश क्षमता तथा इपिएसमा अग्रता लिएका छन्। अर्कोतर्फ २० प्रतिशतभन्दा माथि एनपीएल पुगेका संस्थाका लागि भने कर्जा असुली र सम्पत्तिको गुणस्तर सुधार आगामी दिनको प्रमुख चुनौती बनेको छ।
-
शीर्ष ५ बढी कमाउने लघुवित्त:
-
छिमेक लघुवित्त: रू. १,२९८,९६५ हजार
-
जीवन विकास लघुवित्त: रू. १,०८२,२२४ हजार
-
डिप्रोक्स लघुवित्त: रू. ९८९,४४३ हजार
-
नेशनल लघुवित्त: रू. ८९१,३०३ हजार
-
साना किसान विकास लघुवित्त: रू. ६५३,१४५ हजार
-
-
उच्च लाभांश क्षमता भएका लघुवित्तहरू:
-
जीवन विकास लघुवित्त: ८०.०४%
-
नेसडो समृद्ध लघुवित्त: ६९.१७%
-
छिमेक लघुवित्त: ५९.७२%
-
ग्लोबल आइएमई लघुवित्त: ५९.१६%
-
सपोर्ट माइक्रोफाइनान्स: ५०.७८%
-
स्वाभिमान लघुवित्त: ५०.६२%
-
-
शीर्ष EPS भएका लघुवित्तहरू:
-
सीवाईसी नेपाल लघुवित्त: रू. ११०.६६
-
ग्लोबल आइएमई लघुवित्त: रू. ६१.८७
-
जीवन विकास लघुवित्त: रू. ६१.८
-
नेशनल लघुवित्त: रू. ५८.५९
-
अभियान लघुवित्त: रू. ५७.०४
-
सपोर्ट माइक्रोफाइनान्स: रू. ५६.८२
-
-
न्यूनतम निष्क्रिय कर्जा (उत्कृष्ट स्थिति):
-
सपोर्ट माइक्रोफाइनान्स: २.१६%
-
छिमेक लघुवित्त: २.३०%
-
फर्स्ट माइक्रोफाइनान्स: २.८८%
-
साना किसान विकास लघुवित्त: २.९६%
-
आरएसडीसी लघुवित्त: ३.९२%
-
-
उच्चतम निष्क्रिय कर्जा (जोखिमपूर्ण स्थिति):
-
नेस्डो समृद्ध लघुवित्त: २०.६६%
-
धौलागिरी लघुवित्त: २०.५२%
-
नेरुडे मिर्मिरे लघुवित्त: १९.८६%
-
युनिक नेपाल लघुवित्त: १९.४३%
-
विजय लघुवित्त: १७.३७%
-
मेरो माइक्रोफाइनान्स: १७.३२%
-


