काठमाडौं। काठमाडौँ उपत्यकामा सार्वजनिक बसको प्रतीक्षामा सडक किनारमा उभिएका यात्रुले अब आफूले खोजेको बस कहाँ आइपुगेको छ भनेर मोबाइलबाटै हेर्न सक्ने भएका छन्। सार्वजनिक यातायातमा यात्रुले दैनिक भोग्दै आएको ‘बस कहिले आउँछ?’ भन्ने अनिश्चितता घटाउने उद्देश्यले ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सञ्चालनमा ल्याइएको हो।
संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकका क्रममा परिषद्का अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार एप सार्वजनिक गरेकी हुन्।
हाल एपमा जीपीएस जडान गरिएका करिब १ हजार २ सय सार्वजनिक सवारीसाधन जोडिएका छन्। यात्रुले आफूले पर्खिरहेको सवारी कुन ठाउँमा छ र आफू रहेको स्थानसम्म आइपुग्न कति समय लाग्छ भन्ने जानकारी मोबाइलबाटै लिन सक्नेछन्।
यसले सार्वजनिक यातायातमा समय व्यवस्थापन गर्न यात्रुलाई केही सहज बनाउने अपेक्षा गरिएको छ। तर प्राधिकरणले एपलाई केवल बसको लोकेसन देखाउने प्रविधिका रूपमा सीमित नराखी उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई नै क्रमशः डिजिटल र एकीकृत बनाउने योजनासहित अघि बढाएको छ।
बसको लोकेसनबाट रातको सेवासम्म
एप सार्वजनिक गरिएकै बैठकले उपत्यकाको सार्वजनिक यातायातमा यात्रुले भोग्दै आएका अर्को ठूलो समस्या रात्रिकालीन तथा बिहानैको यातायात सम्बोधन गर्ने योजना पनि अघि सारेको छ।
काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख डंगोलले विद्यालय तथा कलेज जाने विद्यार्थीका लागि बिहानैदेखि सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने र सर्वसाधारणका लागि रात्रिकालीन सेवा विस्तार गर्नुपर्ने बताइन्।
‘सार्वजनिक यातायात कुनै एक पालिकाको सीमाभित्र मात्र राख्न मिल्ने क्षेत्र होइन। पालिका-पालिका जोडिने भएकाले यो पालिकाहरूको साझा सवाल हो,’ उनले भनिन्, ‘यसमा समन्वय गरेर कार्यक्रम र सेवालाई एकरूपता दिनुपर्छ।’
यसका लागि स्थानीय तहबीच वित्तीय साझेदारीसहितको प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ।
ललितपुर महानगरपालिकाका प्रमुख एवं परिषद्का उपाध्यक्ष चिरीबाबु महर्जनले पनि यात्रुले सार्वजनिक बस चढ्दा सहज भएको महसुस गर्ने गरी प्रणाली परिवर्तन गर्नुपर्ने बताए।
एपसँगै बस स्टप र भाडा प्रणाली पनि बदलिँदै
प्राधिकरणले चालु आर्थिक वर्षमा बसको लोकेसन देखाउने प्रणालीसँगै सार्वजनिक यातायातका अन्य पूर्वाधार र सेवामा पनि सुधार गर्ने योजना बनाएको छ।
मुख्य बस स्टप तथा बस पार्कमा जीपीएस ट्याकिङमा आधारित सार्वजनिक यातायात सूचना प्रणाली जडान गर्ने योजना छ। बस स्टपर तथा पिक–ड्रप प्वाइन्ट निर्धारण गर्ने र रात्रि बस सञ्चालनका लागि आवश्यक सर्त तथा सम्झौताको मोडल तयार गरी स्थानीय तहसँग सहकार्य गर्ने कार्यक्रम पनि अघि बढाइएको छ।
सार्वजनिक यातायातमा नगदरहित अर्थात् क्यासलेस भाडा प्रणाली लागू गर्न कानुनी पूर्वाधार तयार गर्ने तयारीसमेत गरिएको छ।
यात्रुले टिकट लिने संस्कारलाई प्रोत्साहन गर्न अभियान सञ्चालन गर्ने तथा सार्वजनिक यातायातसम्बन्धी अध्ययन-अनुसन्धान गर्ने निर्णय पनि भएको छ।
सम्पदा तथा पर्यटकीय क्षेत्रलाई लक्षित गरी सार्वजनिक यातायात सञ्चालन गर्ने विषयसमेत परिषद्को प्राथमिकतामा परेको छ।
प्रविधि आयो, अब सेवा सुधारको चुनौती
प्राधिकरणका कार्यकारी अधिकृत कुवेर नेपालीका अनुसार विगतमा प्राधिकरणको कार्यक्षेत्रबारे अन्तरसरकारी तहमा समान बुझाइ नहुँदा काम अघि बढाउन कठिन भएको थियो।
अघिल्लो वर्ष सरकारले प्राधिकरणलाई खारेजीको सूचीमा राखेपछि अघि बढाउन खोजिएका काम रोकिएका थिए। सरकारले यस वर्ष प्राधिकरणलाई पुनःसंरचना गर्ने निर्णय गरेपछि चालु आर्थिक वर्षका कार्यक्रम अघि बढाइएको नेपालीले बताए।
यसकारण जीपीएस ट्र्याकिङलाई उपत्यकाको सार्वजनिक यातायात सुधारको सुरुवातका रूपमा हेरिएको छ। अब चुनौती भनेको एपमा बस देखिने मात्रै नभई बस समयमै आउने, तोकिएको रुटमा चल्ने, यात्रुले टिकट पाउने, राति पनि सेवा उपलब्ध हुने र सबै पालिकामा एउटै प्रणाली लागू हुने अवस्था सिर्जना गर्नु हो।
‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९’ ले संघीय राजधानी क्षेत्रको सार्वजनिक यातायात सेवा नियमन तथा व्यवस्थापनका लागि प्राधिकरणको व्यवस्था गरेको छ।


