बाढीपीडितको उद्धार र पुनर्निर्माणमा भारत, चीन र विश्व बैंकको सहयोग प्रतिबद्धता

बाढीपीडितको उद्धार र पुनर्निर्माणमा भारत, चीन र विश्व बैंकको सहयोग प्रतिबद्धता

ट्याक्स खबर
बुधवार, भाद्र १० २०८३
ट्याक्स खबर
बुधवार, भाद्र १० २०८३
  • images

    काठमाडौं । विपद्ग्रस्त रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

    बाढीको खबर सार्वजनिक भएलगत्तै विश्व बैंकले नेपाललाई आपत्कालीन सहयोगस्वरूप विभिन्न स्रोतबाट २५ अर्ब रुपैयाँसम्म सहयोग उपलब्ध गराउन सकिने जानकारी दिएको छ। नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको समन्वयमा यस्तो जानकारी गराएका हुन्।

    दक्षिणी छिमेकी भारतले पनि बाढी प्रभावितका लागि तत्काल आवश्यक पर्ने राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारसँग आग्रह गरेको छ। सरकारसँग समन्वय गर्दै भारतीय सहयोग सामग्री आजै काठमाडौँ ल्याउने तयारी भइरहेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन्।

    उत्तरी छिमेकी चीनले पनि विपद् प्रभावितका लागि तत्काल नगद सहयोग गर्ने भएको छ। सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारसँग समन्वय गरेका छन्।

    भारत, चीन र विश्व बैंकबाट प्राप्त सहयोग प्रतिबद्धताप्रति सरकारले आभार व्यक्त गरेको छ। अर्थमन्त्री वाग्लेले अन्तरसरकारी समन्वयमार्फत सहयोग परिचालन तथा त्यसको मोडालिटीबारे छलफल भइरहेको बताएका छन्।

    यसैबीच, सरकारले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। मन्त्रिपरिषद्को निर्णयसँगै प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्निर्माणका लागि घरेलु तथा अन्तर्राष्ट्रिय स्रोतबाट सहयोग जुटाउने बाटो खुलेको सरकारले जनाएको छ।

    सरकारले तत्काल उद्धार र राहतलाई प्राथमिकतामा राख्दै त्यसपछि क्षतिको विस्तृत मूल्यांकन गरी पुनर्निर्माणका कार्यक्रम अघि बढाउने तयारी गरेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend