काठमाडौँ। काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद व्यवस्थापन गर्न ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपैयाँ सहयोग गर्ने भएको छ।
भोटेकोशी बाढीबाट पुगेको क्षति व्यवस्थापनमा महानगरपालिकाको सहयोगका विषयमा छलफल गर्न शनिबार बोलाइएको ५७ औँ कार्यपालिकाको बैठकले खाद्यान्न, लत्ता कपडा, इन्डक्सन सहित भाडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल, सिलिन्डर, एम्बुलेन्स, यातायातका साधन, शववाहन, एक्साभेटर, जेट मेसिन लगायतका साधन र सामग्री तथा आवश्यकता अनुसारका जनशक्ति व्यवस्थापन गर्न विपद् व्यवस्थापन समितिलाई जिम्मेवारी दिने निर्णय गरेको हो।
सहयोग रकममध्ये महानगर विपद व्यवस्थापन कोषबाट ३ करोड रुपैयाँ प्रदान हुनेछ । बाँकी रकम, कार्यपालिका सदस्यहरुको १ महिनाको सुविधाबाट प्राप्त हुने रकम, वडा सदस्यहरुको ५ दिनको सुविधा रकम, शहरी योजना आयोगका उपाध्यक्ष, सदस्य तथा सहायक विज्ञको ७ दिन बराबरको पारिश्रमिक तथा सुविधा रकम, महानगरपालिकामा कार्यरत अधिकृत स्तरका कर्मचारीहरुको ७ दिन बराबरको पारिश्रमिक रकम, सहायक स्तरका कर्मचारीको ५ दिन बराबरको पारिश्रमिक रकम, श्रेणीविहिन कर्मचारीको २ दिन बराबरको पारिश्रमिक रकम जम्मा गरिनेछ।
कार्यवाहक मेयर सुनिता डंगोलले, उद्धार कार्य एउटा जोखिम ठाउँबाट सुरक्षित ठाउँमा पुर्याउनु मात्र नभइ दैनिक सहज जीवन प्रदानबाट पुनःस्थापना गर्नु पर्ने बताउँदै यस्ता कार्यमा महानगरपालिकाबाट नियमित सहयोग प्रदान हुने बताइन्।
‘बाढीमा जनधन पुगेको क्षति सँगै काठमाडौँ काठमाडौँ बसेर अध्ययन गरिरहेका त्यस क्षेत्रका विद्यार्थी, अस्पतालमा कुरुवा वा सहयोगी नभएका विरामीहरुको हेरचाहसम्मका काम गर्नुपर्नेछ । यसकारण हामी जहाँ छौँ । जसरी सहयोग गर्न सक्छौँ। त्यसलाई प्रभावकारी बनाउन आवश्यक छ,’ उनले भनिन्।


