काठमाडौँ। भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका स्थानीय तहमा संघीय सरकारले नगद राहत पठाएको छ।
बाढीपछि तत्कालीन राहत तथा उद्धार व्यवस्थापनका लागि सरकारले प्रभावित जिल्लाका १५ स्थानीय तहमा ६ करोड ७५ लाख रुपैयाँ पठाएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबारसम्म सम्बन्धित स्थानीय तहमा उक्त रकम हस्तान्तरण भइसकेको छ। राहत वितरणको ढाँचाअनुसार रसुवा र नुवाकोटका स्थानीय तहमा एक-एक करोड रुपैयाँका दरले तथा धादिङका स्थानीय तहमा ५० लाख रुपैयाँका दरले रकम उपलब्ध गराइएको छ।
राहत कोषमा ४ अर्ब ३८ करोड जम्मा
बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न गरेको अपिलपछि ठूलो परिमाणमा रकम संकलन भएको छ।
प्राधिकरणका अनुसार हालसम्म ती कोषमा ४ अर्ब ३८ करोड रुपैयाँ नेपाली मुद्रा र ६ लाख ८० हजार अमेरिकी डलर जम्मा भइसकेको छ।
यसरी एकातर्फ सरकारले प्रभावित स्थानीय तहमा तत्काल खर्च गर्न नगद पठाएको छ भने अर्कोतर्फ केन्द्रमा संकलित राहत रकम र सामग्रीलाई आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा परिचालन गरिरहेको छ।
सडकदेखि हवाई मार्गसम्म राहत परिचालन
बाढी प्रभावित क्षेत्रमा नगदसँगै खाद्य तथा गैरखाद्य सामग्रीको आपूर्ति पनि जारी छ। प्राधिकरणका अनुसार हालसम्म ३७ वटा ट्रक र १३ वटा बोलेरो जिपमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ।
सडक पहुँच कठिन भएका तथा तत्काल राहत आवश्यक पर्ने स्थानमा हेलिकप्टरमार्फत आठ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पुर्याइएको छ।
बाढीका कारण कतिपय क्षेत्रमा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले उद्धार तथा राहत समन्वयलाई सहज बनाउन सञ्चार सेटसमेत प्रभावित क्षेत्रमा पठाइएको प्राधिकरणले जनाएको छ।
भोटेकोसी बाढीपछि प्रभावित क्षेत्रमा राहत परिचालनका लागि संघीय सरकार, स्थानीय तह र सुरक्षा निकायले नगद, खाद्य सामग्री तथा हवाई र स्थलमार्गबाट सहायता पुर्याउने कामलाई निरन्तरता दिएका छन्।


