काठमाडौँ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरकारले विद्यमान कानुन संशोधनदेखि संघीय संरचनाअनुकूल संस्थागत संयन्त्र निर्माणसम्मका काम अघि बढाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखनको बदलिँदो स्वरूपलाई नियन्त्रण गर्न सरकार नीतिगत तथा संस्थागत सुधारमा अघि बढिरहेको बताएका छन्।
मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलङ्क मात्र नभई संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको बताएका हुन्।
उनका अनुसार प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यसमेत परिवर्तन हुँदै गएको छ। त्यसैले यसको नियन्त्रणका लागि परम्परागत उपायसँगै प्रविधिको सही प्रयोग र सजगतालाई जोड दिनुपर्ने सरकारको निष्कर्ष छ।
सरकारले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई पालेर्मो प्रोटोकलअनुकूल हुने गरी संशोधन गर्न विधेयक संसदमा दर्ता गरिसकेको प्रधानमन्त्री शाहले बताएका छन्। प्रस्तावित कानुनी सुधारले मानव बेचबिखनबाट पीडितको अन्तर्राष्ट्रिय स्तरमा मानव अधिकार संरक्षण तथा राज्यहरूबीच सहयोग र समन्वय बढाउन सहज हुने सरकारको अपेक्षा छ।
त्यसैगरी, संघीय संरचनाअनुसार विद्यमान कानुनी तथा संस्थागत संयन्त्रलाई पुनर्संरचना गर्ने क्रममा सरकारले मानव बेचबिखनविरुद्धको नीति जारी गरी कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।
तीन तहका सरकारबीच सहकार्यमा जोड
मानव बेचबिखन नियन्त्रणलाई संघीय सरकारको मात्रै जिम्मेवारीका रूपमा नहेरी प्रदेश र स्थानीय तहसम्म अभियान विस्तार गर्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिएका छन्।
उनले संघीय सरकारसँगै प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।
मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएकाले प्रविधिको सही प्रयोगसँगै नागरिकमा सजगता बढाउनुपर्ने सरकारको जोड छ। यस वर्षको राष्ट्रिय दिवस पनि ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाइँदैछ।
प्रधानमन्त्री शाहले मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै पक्षको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्। सरकारको अभियानमा निरन्तर सहयोग, समन्वय र सहकार्य गर्दै आएका सबैप्रति धन्यवाद व्यक्त गर्दै उनले मानव बेचबिखनविरुद्धको अभियानमा ऐक्यबद्ध हुन आग्रह गरेका छन्।


