काठमाडौं । रसुवामा आएको विनाशकारी भोटेकोशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक संरचनामा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीबाट सरकारी तथा सार्वजनिक भवनदेखि निजी घर, विद्यालय, बैंक तथा वित्तीय संस्था र जलविद्युत् आयोजनासम्म प्रभावित भएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीबाट २८ वटा सरकारी तथा सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प तथा करिब १ हजार ५०० निजी घरमा क्षति पुगेको छ।
बाढीले जिल्लाको यातायात पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार ४१ किलोमिटर सडक, ६ वटा पक्की पुल, ८ वटा बेलिब्रिज र १० वटा झोलुङ्गे पुल बाढीले बगाएको छ।
त्यस्तै, भोटेकोशी, त्रिशूली नदी तथा लाङ्टाङ खोलामा निर्माण भएका विभिन्न ८ वटा जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुगेको प्रशासनले जनाएको छ।
बाढीबाट १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, ५ मेगावाटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ र ३७.३ मेगावाटको त्रिशूली–३ ‘बी’ आयोजना प्रभावित भएका छन्।
सुरुङमा फसेकाको खोज तथा उद्धार जारी
बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उद्धार अभियान सञ्चालन गरिरहेका छन्।
थप सहयोगका लागि दक्षिण कोरिया, भारत र चीनका विज्ञ टोलीसमेत प्रभावित क्षेत्रमा परिचालित भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
प्रशासनका अनुसार हालसम्म बाढीपछि १ हजार ३६५ रसुवाली नागरिक, १ हजार १६० अन्य जिल्लाका नागरिक र २६४ पर्यटक सम्पर्कविहीन छन्।
यसैगरी, बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी, ७९ सरकारी कर्मचारी, १३ सशस्त्र प्रहरी, २८ नेपाल प्रहरी र २७ नेपाली सेना समेत सम्पर्कविहीन रहेको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिएका छन्।
हेलिकप्टरबाट राहत वितरण
बाढी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन हेलिकप्टरमार्फत राहत वितरण भइरहेको छ।
प्रभावित बस्तीमा सडक तथा पुलको संरचना क्षतिग्रस्त भएकाले स्थलमार्गबाट राहत पुर्याउन कठिनाइ भएपछि हेलिकप्टरमार्फत राहत सामग्री पठाउने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा खोज तथा उद्धार कार्य अझै जारी रहेकाले क्षतिको परिमाण थप बढ्न सक्ने प्रशासनले जनाएको छ।


