नेपालको डिजिटल सेवा निर्यात ९८ अर्ब पुग्यो, एक वर्षमै २४ प्रतिशत वृद्धि

नेपालको डिजिटल सेवा निर्यात ९८ अर्ब पुग्यो, एक वर्षमै २४ प्रतिशत वृद्धि

आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • images

    काठमाडौं। नेपालबाट हुने डिजिटल सेवा निर्यात तीव्र गतिमा बढ्न थालेको छ। आर्थिक वर्ष २०८१/८२ मा ७९ अर्ब रुपैयाँ रहेको डिजिटल सेवा निर्यात आर्थिक वर्ष २०८२/८३ मा बढेर ९८ अर्ब रुपैयाँ पुगेको छ।

    एक वर्षको अवधिमा नेपालको डिजिटल सेवा निर्यात १९ अर्ब रुपैयाँ अर्थात् करिब २४ प्रतिशतले वृद्धि भएको हो।

    नेपालको डिजिटल सेवा निर्यातमा परम्परागत दूरसञ्चार सेवासँगै सूचना प्रविधि (आईटी) तथा बिजनेस प्रोसेसिङ सेवाको योगदान रहेको छ। यीमध्ये बिजनेस प्रोसेसिङ सेवाको हिस्सा सबैभन्दा ठूलो रहेको छ।

    परम्परागत वस्तु निर्यात कमजोर रहँदा र व्यापार घाटा उच्च अवस्थामा रहेको नेपालका लागि डिजिटल सेवा निर्यात नयाँ सम्भावनाको क्षेत्रका रूपमा देखिएको छ। वस्तु निर्यातका लागि उत्पादन, भण्डारण तथा ढुवानी आवश्यक पर्ने भए पनि डिजिटल सेवा सीप र प्रविधिको माध्यमबाट विदेशमा रहेका ग्राहकलाई प्रत्यक्ष उपलब्ध गराउन सकिन्छ।

    आईटी व्यवसाय विस्तार हुँदै

    डिजिटल सेवा निर्यात बढेसँगै नेपालमा सूचना प्रविधिसम्बन्धी व्यवसायको विस्तारसमेत हुन थालेको छ।

    सफ्टवेयर विकास, बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ), डेटा व्यवस्थापन, डिजाइन तथा प्राविधिक सेवामा नेपाली कम्पनीको संलग्नता बढ्दै गएको छ। पछिल्ला वर्षमा सूचना प्रविधि क्षेत्रमा नयाँ कम्पनी तथा व्यवसाय सञ्चालन गर्ने क्रमसमेत बढेको छ।

    सरकारले सूचना प्रविधिलाई रणनीतिक क्षेत्रका रूपमा अघि बढाउँदै डिजिटल सेवा निर्यात विस्तार गर्ने नीति लिएको छ। विदेशी लगानीका प्राथमिकतामा समेत ऊर्जा र परम्परागत उद्योगसँगै सूचना प्रविधि तथा डिजिटल सेवा क्षेत्र पर्न थालेका छन्।

    विश्व व्यापारमा पनि डिजिटल सेवाको हिस्सा बढ्दै

    नेपालमा डिजिटल सेवा निर्यात बढिरहेका बेला विश्व व्यापारको स्वरूपसमेत परिवर्तन हुँदै गएको छ। वस्तुको व्यापारसँगै डिजिटल माध्यमबाट उपलब्ध गराउन सकिने सेवाको कारोबार तीव्र रूपमा विस्तार भइरहेको छ।

    संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास निकाय (अंकटाड) को ग्लोबल ट्रेड अपडेटअनुसार कम्प्युटर नेटवर्कमार्फत सीमा पार उपलब्ध गराउन सकिने डिजिटल सेवाको निर्यात पछिल्लो एक दशकमा वार्षिक औसत ७.१ प्रतिशतले बढेको छ।

    यस्ता डिजिटल सेवाले अहिले विश्वको कुल सेवा निर्यातको ५६ प्रतिशत हिस्सा ओगटेका छन्। सन् २०२५ मा विश्वको कुल निर्यातमा सेवाको हिस्सा २७ प्रतिशत पुगेको छ, जुन सन् २०१५ मा २३ प्रतिशत थियो।

    लजिस्टिक्स, वित्त, डिजाइन तथा डेटा व्यवस्थापनजस्ता सेवा उत्पादन प्रक्रियासँग जोडिँदै गएकाले विश्व व्यापार अब वस्तुको किनबेचमा मात्र सीमित नरहेको अंकटाडको निष्कर्ष छ।

    विकासशील मुलुकमा अझै चुनौती

    डिजिटल सेवाको विस्तार भने सबै मुलुकमा समान रूपमा हुन सकेको छैन।

    विकसित अर्थतन्त्रमा डिजिटल रूपमा उपलब्ध गराउन सकिने सेवाको हिस्सा कुल सेवा निर्यातको करिब ६१ प्रतिशत पुगेको छ। अतिकम विकसित मुलुकमा भने यस्तो हिस्सा १६ प्रतिशत मात्रै रहेको छ।

    कमजोर तथा महँगो इन्टरनेट, अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा सीमित पहुँच, डिजिटल सीपको कमी र कमजोर नियामक संरचनाका कारण अतिकम विकसित मुलुकले डिजिटल सेवा व्यापारबाट अपेक्षित लाभ लिन नसकेको अंकटाडले जनाएको छ।

    एआई विस्तारसँगै नयाँ चुनौती

    कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विस्तारले डिजिटल सेवा बजारमा नयाँ चुनौतीसमेत थपेको छ।

    एआई विकास तथा प्रयोगका लागि आवश्यक कम्प्युटिङ क्षमता, डेटा, वित्तीय स्रोत तथा विशेषज्ञता सीमित मुलुक र कम्पनीमा केन्द्रित हुँदा डिजिटल व्यापारमा रहेको असमानता अझ बढ्न सक्ने जोखिम देखिएको छ।

    नेपालमा हाल डिजिटल सेवा निर्यातको वृद्धि मुख्यतः बिजनेस प्रोसेसिङ तथा अन्य नियमित प्रकृतिका सेवामा केन्द्रित रहेको व्यवसायीहरूको भनाइ छ।

    डिजिटल सेवा निर्यातलाई थप विस्तार गर्न सरकारी प्रोत्साहन, दक्ष जनशक्ति विकास, पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा सहज पहुँच तथा नीतिगत सहजीकरण आवश्यक रहेको उद्यमीहरूले बताउँदै आएका छन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend