काठमाडौं। यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग गर्न नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
सहयोग रकमको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
यसअघि कम्पनीले बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा प्रत्यक्ष राहतसमेत उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार प्रभावित क्षेत्र तथा पीडितलाई राखिएका आश्रयस्थलमा ३० लाख रुपैयाँबराबरको ‘करेन्ट’ चाउचाउ पठाएर सम्बन्धित निकाय तथा प्रभावित नागरिकलाई वितरण गरिएको थियो।
आवश्यकता परे थप चाउचाउ पठाउनुका साथै पीडितलाई सहयोग गर्न आफूहरू तयार रहेको कम्पनीले जनाएको छ।
कम्पनीले विपद्को घडीमा आवश्यक पर्ने अन्य सहयोगका लागि समेत यशोदा ग्रुप इण्डस्ट्रिज पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको जनाएको छ।


