काठमाडौं। कृष्णभीरको पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गमा वैकल्पिक डाइभर्सनसहितको बाटो सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज हुन थालेको छ। सडक खुलेसँगै ग्यास बोकेका बुलेटहरू काठमाडौं आउन थालेका छन् भने उपभोक्ताले यसअघि बढेको मूल्य तिर्नुपर्ने अवस्था पनि हटेको छ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार कृष्णभीरमा नयाँ ट्याकसहितको वैकल्पिक बाटो सञ्चालनमा आएपछि ग्यास बोकेका बुलेट उपत्यकातर्फ नियमित रूपमा आउन थालेका हुन् । उनका अनुसार मंगलबारदेखि नै सीमित संख्यामा बुलेट पृथ्वी राजमार्ग हुँदै उपत्यका भित्र्याउन सुरु गरिएको थियो । बिहीबारदेखि भने सडकमा अवरोधबिना बुलेट सञ्चालन गर्न सकिने अवस्था बनेको छ ।
अब उपत्यकाकै उद्योगमा सिलिन्डर भरिने
सडक खुलेसँगै काठमाडौं, धादिङ र काभ्रेलाई केन्द्र बनाएर सञ्चालनमा रहेका २० वटा ग्यास उद्योगले शुक्रबारदेखि आफ्नै कारखानामा सिलिन्डर भरेर बजारमा पठाउने तयारी गरेका छन् ।
चन्दका अनुसार पृथ्वी राजमार्ग खुलेपछि संघले उपत्यका केन्द्रित ग्यास उद्योगहरूलाई पहिलेकै कारखानामा ग्यास भरेर बजारमा बिक्री-वितरण गर्न निर्देशन दिएको छ । यसअघि सडक अवरुद्ध हुँदा उपत्यकामा रहेका उद्योगले आफ्ना सिलिन्डर तराईमा पठाएर बोटलिङ गराउनुपर्ने अवस्था थियो ।
उपत्यकाका उद्योगमै बुलेट आउन थालेपछि सिलिन्डर भर्नका लागि लामो दूरीमा पठाउनुपर्ने बाध्यता हटेको छ । यसले आपूर्ति शृंखला छोट्याउनुका साथै बजारमा ग्यास पठाउन लाग्ने समय र ढुवानी खर्चसमेत घटाउने अपेक्षा गरिएको छ ।
साबिककै मूल्यमा घरपायकबाट ग्यास
ग्यास बुलेट काठमाडौं आउन थालेसँगै उपभोक्ताले घरपायक बिक्रेताबाटै साबिकको मूल्यमा ग्यास पाउने व्यवस्था मिलाइएको संघले जनाएको छ ।
नेपाल आयल निगमले हाल प्रतिसिलिन्डर एलपी ग्यासको मूल्य २ हजार ६० रुपैयाँ तोकेको छ । तर, पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगहरूले वैकल्पिक र लामो मार्ग प्रयोग गर्नुपर्दा ढुवानी खर्च बढेको थियो ।
त्यसपछि संघले भदौ १८ गतेदेखि प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ ३८ पैसा अतिरिक्त ढुवानी भाडा थप गरी अधिकतम २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसासम्ममा ग्यास बिक्री गर्न सरकारबाट अनुमति पाएको थियो ।
अब पृथ्वी राजमार्गबाट नियमित रूपमा बुलेट सञ्चालन हुन थालेपछि उक्त अतिरिक्त ढुवानी खर्च हटेको छ । त्यससँगै काठमाडौंमा ग्यासको अधिकतम बिक्री मूल्य पुनः २ हजार ६० रुपैयाँमा कायम भएको हो ।
दुई दिनमै ७४ बुलेट नेपाल भित्रिए
यसबीच वीरगन्ज भन्सारबाट बुधबार र बिहीबार गरी ७४ वटा ग्यास बुलेट जाँचपास भएर नेपाल भित्रिएका छन् । तीमध्ये ४६ वटा बुलेट काठमाडौं केन्द्रित उद्योगका लागि ग्यास बोकेर आएका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार बुधबार ३८ र बिहीबार ३६ वटा बुलेट वीरगन्ज भन्सारबाट जाँचपास भएका हुन् । तीमध्ये अधिकांश काठमाडौं, ललितपुर, धादिङ, काभ्रे र चितवनमा रहेका उद्योगका लागि ग्यास बोकेर आएका छन् । ती उद्योगहरूको प्रमुख बजार काठमाडौं उपत्यका हो ।
‘ग्यास आयात क्रमशः बढेको छ । त्यसैले चाँडै आपूर्ति सहज हुन्छ,’ श्रेष्ठले भने । वीरगन्ज भन्सारबाट जाँचपास भएका कतिपय बुलेट उद्योगमा पुगिसकेका र कतिपय बाटोमै रहेको उनले जानकारी दिए ।
कुन ब्रान्डका लागि कति बुलेट ?
संघबाट प्राप्त तथ्यांकअनुसार दुई दिनमा बाबा, एचपी, सगर, नेपाल र श्रीराम ब्रान्डका सिलिन्डरमा ग्यास भर्न समान ३–३ वटा बुलेट भित्रिएका छन् ।
त्यस्तै गीता, मनोज, साइबाबा र हिमाल ब्रान्डका सिलिन्डरमा ग्यास भर्न समान २-२ वटा बुलेट आएका छन् । राजधानी, ओम, सुगम, श्रीकृष्ण, सूर्य, सीताश्री, भानु, नमस्ते र लोकप्रिय ब्रान्डका सिलिन्डरमा ग्यास भर्न १–१ वटा बुलेट भित्रिएका छन्।
यसरी आयात बढ्दै जानु र पृथ्वी राजमार्गबाट बुलेटको नियमित आवागमन सुरु हुनुका कारण आगामी दिनमा काठमाडौं उपत्यकाको ग्यास आपूर्ति थप सहज हुने व्यवसायीहरूको अपेक्षा छ ।


