टेलिकमका १,५९७ स्थानमा फोरजी विस्तार हुँदै, २०० नयाँ टावर थपिँदै

टेलिकमका १,५९७ स्थानमा फोरजी विस्तार हुँदै, २०० नयाँ टावर थपिँदै

ट्याक्स खबर
बिहिवार, आश्विन १५ २०८३
ट्याक्स खबर
बिहिवार, आश्विन १५ २०८३
  • images

    काठमाडौं। सरकारले टेलिफोन र इन्टरनेट सेवा भरपर्दो बनाउन नेपाल टेलिकमलाई सेवा विस्तार, उपकरण थप र पावर ब्याकअपमा जोड दिएर काम अघि बढाउन निर्देशन दिएको छ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार र गुणस्तर सुधारको ‘रूपान्तरण वर्ष’ का रूपमा अघि बढाउन लागिएको बताए।

    उनका अनुसार नेपाल टेलिकमले देशभर थप २०० वटा मोबाइल टावर निर्माण गर्ने तयारी गरेको छ। त्यसका लागि बोलपत्र मूल्याङ्कन भइरहेको छ।

    यस्तै, मोबाइल नेटवर्कमा देखिएका समस्या समाधान गर्न १ हजार ५९७ स्थानमा फोरजी सेवा सञ्चालनका लागि आवश्यक उपकरण खरिदको बोलपत्र यसै साता प्रकाशित हुने उनले बताए।

    टावरमा ब्याकअप बढाइँदै

    विद्युत् अवरुद्ध हुँदा टावर बन्द भएर मोबाइल सेवा प्रभावित नहोस् भनेर टेलिकमले पावर ब्याकअपको क्षमता पनि बढाइरहेको छ।

    मन्त्री तिमिल्सिनाका अनुसार पछिल्लो तीन महिनामा सातै प्रदेशका ६ सयभन्दा बढी स्थानमा ब्याट्री ब्याकअप फेरिएको छ। नयाँ ब्याकअपबाट विद्युत् गएपछि ग्रामीण क्षेत्रमा ८ देखि १० घण्टा र सहरी क्षेत्रमा ४ देखि ६ घण्टासम्म मोबाइल सेवा चलाउन सकिने उनले बताए।

    अहिले टेलिकमसँग करिब ५०० वटा ब्याट्री मौज्दात रहेको र आवश्यक स्थानमा आगामी तीन महिनाभित्र ब्याकअप अद्यावधिक गरिसक्ने लक्ष्य रहेको उनले जानकारी दिए। थप २०० वटा ब्याट्री खरिदका लागि पनि बोलपत्र प्रक्रियामा छ।

    त्यस्तै, टेलिकमका ३२ वटा सोलार साइटमा पावर ब्याकअप र सोलार प्रणालीको क्षमता बढाउने काम अघि बढाइएको छ। सम्भव भएका सोलार साइटलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न ऊर्जा मन्त्रालयसँग समन्वय भइरहेको उनले बताए।

    टावरको ब्याट्री र उपकरण चोरीको समस्या

    राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा रहेका टेलिकमका सोलार साइटबाट ब्याट्री, उपकरण र ब्याट्री जोड्ने तार चोरी हुने समस्या रहेको मन्त्री तिमिल्सिनाले बताए।

    कतिपय टावरमा भौतिक क्षतिसमेत हुने गरेको भन्दै उनले यस्ता घटनाका कारण दूरसञ्चार सेवा पटक–पटक प्रभावित हुने बताए। दूरसञ्चार पूर्वाधारमा क्षति पुर्‍याउने र चोरी गर्नेहरूमाथि कडा कारबाही गरिने उनको भनाइ छ।

    भोटेकोशी बाढीबाट टेलिकमलाई ८ करोड ८५ लाखको क्षति

    भोटेकोशी बाढीबाट नेपाल टेलिकमको मोबाइल, वायरलाइन र ब्याकबोन प्रसारण प्रणालीमा ८ करोड ८५ लाख १२ हजार ६८५ रुपैयाँ बराबरको क्षति भएको मन्त्री तिमिल्सिनाले जानकारी दिए।

    रसुवा, नुवाकोट र धादिङमा रहेका १२० साइटमध्ये बाढीका कारण ८३ वटा साइटको सेवा प्रभावित भएको थियो। त्रिशूली–३ ‘बी’, चिलिमे खोला र टिमुरेका तीन साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।

    यी तीन साइटबाहेक अन्य प्रभावित साइटको सेवा पुनः सञ्चालनमा ल्याइसकिएको उनले बताए। पूर्ण क्षतिग्रस्त साइट तत्काल पुनःस्थापना गर्न नसकिए पनि आवश्यक स्थानमा वैकल्पिक टावर राखेर मोबाइल नेटवर्क सञ्चालनमा राखिएको छ।

    टिमुरेको टावरमा यही साता हेलिकप्टरमार्फत सोलार जडान गरेर सेवा सञ्चालनमा ल्याइएको मन्त्री तिमिल्सिनाले बताए।

    बाढीले रसुवा, नुवाकोट र धादिङको ६५.३ किलोमिटरमध्ये ३७.९ किलोमिटर फाइबर नेटवर्कमा क्षति पुर्‍याएको थियो। त्यसमध्ये २७.४ किलोमिटर मर्मत भइसकेको छ।

    वायरलाइन नेटवर्कतर्फ रसुवा र नुवाकोटका तीनवटा ओएलटी पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। केही एफटीटीएच नेटवर्कमा समेत क्षति पुगेकोमा अधिकांश ओएलटी पुनःप्राप्त गरी सेवा सञ्चालनमा ल्याइएको उनले बताए।

    टिमुरे र रसुवागढी क्षेत्रमा फाइबर तथा माइक्रोवेभमा समेत क्षति पुगेको थियो। अहिले फाइबरको विकल्पमा माइक्रोवेभ प्रविधिबाट ब्याकबोन प्रसारण सेवा पुनःस्थापना गरिएको मन्त्री तिमिल्सिनाले जानकारी दिए।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend