वैकल्पिक विकास वित्त कोषको सीईओ बन्न आवेदन खुल्यो, ६५ वर्ष ननाघेको हुनुपर्ने

वैकल्पिक विकास वित्त कोषको सीईओ बन्न आवेदन खुल्यो, ६५ वर्ष ननाघेको हुनुपर्ने

कोषमार्फत ठूला आयोजना निर्माण तथा निजी लगानी परिचालन बढ्दा भविष्यमा पूर्वाधार विस्तार, उत्पादन, रोजगारी र व्यवसायिक गतिविधिमा प्रभाव पर्न सक्छ।

शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • images

    असोज १६, काठमाडौं ।
    सरकारले ठूला पूर्वाधार आयोजनामा वैकल्पिक स्रोतबाट लगानी जुटाउने उद्देश्यले स्थापना गरेको वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न योग्य उम्मेदवारबाट दरखास्त मागिएको हो। अर्थ मन्त्रालयले यसका लागि वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न उम्मेदवार छनोट सम्बन्धी कार्यविधि, २०८३ बमोजिम आवेदन मागेको हो।

    आवेदन दिन ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। उम्मेदवार नेपाली नागरिक, विदेशी नागरिक वा विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त व्यक्ति हुन सक्ने व्यवस्था सूचनामा उल्लेख छ।

    शैक्षिक योग्यता अन्तर्गत मान्यता प्राप्त शिक्षण संस्थाबाट वित्त विश्लेषण, अर्थशास्त्र, व्यवस्थापन वा वाणिज्यशास्त्र, सार्वजनिक विकास प्रशासन, वाणिज्य कानुन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

    त्यस्तै, पूर्वाधार संरचना, आयोजना निर्माण तथा विकास, सार्वजनिक - निजी साझेदारी, लगानी प्रवद्र्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र, औद्योगिक व्यवस्थापन वा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्र/संस्थामा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव आवश्यक पर्नेछ।

    उम्मेदवारमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा सजाय नभएको, उच्च नैतिक चरित्र भएको र कार्यविधिले तोकेका अन्य अयोग्यता नभएको हुनुपर्नेछ। आवेदनसँग शैक्षिक योग्यता, अनुभव, नागरिकता/राहदानीलगायतका प्रमाणपत्रसमेत पेश गर्नुपर्नेछ।

    उम्मेदवारले वैकल्पिक विकास वित्त परिचालन वा आयोजना विश्लेषणको क्षेत्रमा अनुभव भए त्यसको प्रमाणसमेत पेश गर्न सक्नेछन्। साथै, उम्मेदवारले कोषको व्यावसायिक रणनीति तथा कार्ययोजनासहितको प्रस्तुतीकरणसमेत तयार गर्नुपर्नेछ।

    आवेदन कहिलेसम्म ?

    सूचनाअनुसार आवेदन सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ असोज २९ गते कार्यालय समयभित्र अर्थ मन्त्रालय, सिंहदरबारमा बुझाउनुपर्नेछ। सार्वजनिक बिदा परे त्यसपछिको कार्यालय खुलेको दिनसम्म आवेदन दिन सकिने व्यवस्था छ।

    उम्मेदवारले कोषको व्यावसायिक रणनीति तथा कार्ययोजना नेपाली वा अंग्रेजी भाषामा तयार गरी तोकिएको ढाँचाअनुसार पेश गर्नुपर्नेछ। सूचनामा उक्त रणनीति तथा कार्ययोजना कम्प्युटर टाइप गरी ५ हजार शब्दमा नबढ्ने गरी तीन प्रति पेश गर्नुपर्ने उल्लेख छ।

    के हो वैकल्पिक विकास वित्त कोष ?

    वैकल्पिक विकास वित्त कोष भनेको सरकारको वार्षिक बजेट मात्रैमा निर्भर नभई ठूला तथा दीर्घकालीन पूर्वाधार आयोजनाका लागि विभिन्न वित्तीय स्रोत परिचालन गर्ने उद्देश्यले स्थापना गरिएको कोष हो। वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८३ अन्तर्गत स्थापना भएको यो कोषले ऊर्जा, विद्युत् प्रसारण, सडक, रेल, विमानस्थल, सुरुङ, सहरी तथा डिजिटल पूर्वाधारलगायतका आयोजनामा लगानीका लागि स्रोत जुटाउने लक्ष्य राखेको छ।

    कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ र प्रारम्भिक चुक्ता पुँजी २५ अर्ब रुपैयाँ रहने व्यवस्था छ। सरकारले ५१ प्रतिशत स्वामित्व राख्ने व्यवस्था गरिएको छ। कोषले इक्विटी, ऋणपत्र, ऋण तथा मिश्रित वित्तीय उपकरणमार्फत स्रोत परिचालन गर्न सक्ने व्यवस्था छ।

    यसको मुख्य उद्देश्य ठूला पूर्वाधार आयोजना निर्माणका लागि आवश्यक लगानीको स्रोत जुटाउनु हो। सरकारले मात्र बजेट छुट्याएर आयोजना अघि बढाउन कठिन हुने अवस्थामा निजी क्षेत्र, संस्थागत लगानीकर्ता तथा अन्य वित्तीय स्रोतलाई समेत विकास आयोजनामा जोड्ने अवधारणामा यो कोष स्थापना गरिएको हो।

    स्रोत: अर्थ मन्त्रालयको सार्वजनिक सूचना; कोषको संरचना तथा उद्देश्यसम्बन्धी सार्वजनिक विवरण। 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend