काठमाडौं । विदेशी पर्यटकबाट उठाइने पर्यटन सेवा शुल्क नेपालको पर्यटन प्रवर्द्धनका लागि प्रयोग हुने प्रमुख स्रोत बनेको छ। नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गर्दै आफ्नो आम्दानीको सबैभन्दा ठूलो हिस्सा पर्यटन सेवा शुल्कबाट आउने अनुमान गरेको छ।
बोर्डका अनुसार चालु आर्थिक वर्षमा पर्यटन सेवा शुल्कबाट मात्रै १ अर्ब १७ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। यो बोर्डको कुल बजेटको करिब ६९ प्रतिशत हो।
नेपालमा आएका विदेशी पर्यटक नेपालबाट बाहिरिँदा भ्याटबाहेक प्रतिव्यक्ति १ हजार रुपैयाँ पर्यटन सेवा शुल्क लिने व्यवस्था छ। पर्यटन प्रवर्द्धन तथा बजारीकरणका लागि संकलन हुने यही शुल्क बोर्डको प्रमुख आम्दानी स्रोत हो।
यस हिसाबले हेर्दा पर्यटन बोर्डको बजेटमा पर्यटन क्षेत्रमा आउने विदेशी पर्यटकले प्रत्यक्ष योगदान गरिरहेका छन्। पर्यटकबाट उठेको शुल्क नै पुनः पर्यटन प्रवर्द्धन, बजार विस्तार तथा अन्तर्राष्ट्रिय प्रचारमा खर्च हुने संरचना रहेको देखिन्छ।
६६ प्रतिशत बजेट पर्यटन प्रवर्द्धनमा
बोर्डले चालु आर्थिक वर्षको कुल बजेटमध्ये ६६ प्रतिशत रकम पर्यटन प्रवर्द्धन तथा कार्यक्रमका लागि छुट्याएको छ।
पर्यटन बोर्डले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई बजेटको मुख्य प्राथमिकतामा राखेको छ। विदेशमा गरिने प्रवर्द्धनात्मक कार्यक्रम, सेल्स मिसन तथा बजारीकरणका गतिविधि यसअन्तर्गत पर्छन्।
गत आर्थिक वर्षमा भने बोर्डले विनियोजन गरेको बजेटको ५६ प्रतिशत मात्रै खर्च भएको अनुमान छ। १ अर्ब ६० करोड रुपैयाँको बजेट ल्याएको बोर्डले गत वर्ष करिब ८९ करोड ४७ लाख रुपैयाँ मात्रै खर्च गरेको थियो।
बोर्डका वरिष्ठ निर्देशक तथा सूचना अधिकारी सन्तोष पन्तका अनुसार सार्वजनिक खरिद ऐनअनुसार विदेशमा गरिने खरिदसम्बन्धी कार्यविधि स्वीकृत हुन ढिलाइ हुँदा अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रम प्रभावित भएका थिए। साथै, वैशाख तेस्रो सातादेखि प्रमुख कार्यकारी अधिकृत पद रिक्त हुँदा पनि खर्च अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ छ।
टिम्सबाट पनि ४ करोड ६६ लाख आम्दानीको लक्ष्य
पर्यटन सेवा शुल्कबाहेक बोर्डले पदयात्री पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीबाट ४ करोड ६६ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।
नेपाल आउने विदेशी पदयात्रीले पदयात्रामा जानुअघि टिम्स कार्ड लिनुपर्ने व्यवस्था छ। यसको अतिरिक्त बोर्डले सहभागिता योगदान, हलभाडा तथा बैंक ब्याजलगायतका स्रोतबाट पनि आम्दानी गर्ने जनाएको छ।
कर र गैरकर राजस्वको फरक पनि महत्वपूर्ण
पर्यटन बोर्डको आम्दानीको संरचनाले कर र गैरकर राजस्वबीचको अन्तरलाई पनि देखाउँछ। पर्यटकबाट उठाइने पर्यटन सेवा शुल्क सरकारको सामान्य कर राजस्वभन्दा फरक प्रकृतिको शुल्क हो। तर पर्यटनबाट हुने यस्तो आम्दानीले सार्वजनिक संस्थाको स्रोत परिचालनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।
यससँगै विदेशी पर्यटकले नेपालमा गर्ने होटल, यातायात, हवाई सेवा, रेस्टुरेन्ट, मनोरञ्जन तथा अन्य खर्चबाट सरकारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभिन्न कर प्राप्त हुन्छन्। त्यसैले पर्यटन प्रवर्द्धनमा गरिएको खर्चलाई केवल पर्यटन क्षेत्रको खर्चका रूपमा नभई राजस्वको आधार विस्तार गर्ने लगानीका रूपमा समेत हेर्नुपर्ने देखिन्छ।
बोर्डले चालु आर्थिक वर्षमा १ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको छ, जुन गत आर्थिक वर्षको १ अर्ब ६० करोड रुपैयाँभन्दा २० करोड रुपैयाँ बढी हो। अब चुनौती भनेको विनियोजित रकम कति प्रभावकारी रूपमा खर्च हुन्छ र त्यसबाट थप पर्यटक तथा थप आर्थिक गतिविधि सिर्जना गर्न सकिन्छ भन्नेमा रहनेछ।


