काठमाडौं । दसैंमा खाना पकाउने ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकामा ग्यास सिलिन्डर साटफेर गर्ने केन्द्रको संख्या ६ बाट बढाएर ११ पुर्याइएको छ।
नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा नेपाल एलपी ग्यास उद्योग संघले सोमबारदेखि पाँचवटा नयाँ केन्द्र थप गरेको हो।
यसअघि आइतबारदेखि उपत्यकाका ६ स्थानमा ग्यास बिक्री तथा सिलिन्डर साटफेर सुरु गरिएको थियो। तर, केही केन्द्रमा पर्याप्त ग्यास उपलब्ध नहुँदा उपभोक्ताले खाली सिलिन्डर दिएर भरिएको सिलिन्डर लिन नपाएको गुनासो गरेका थिए। उपभोक्ताको सहजताका लागि बिक्री केन्द्र विस्तार गरिएको संघले जनाएको छ।
संघका अनुसार सोमबारदेखि काठमाडौंको चपली बुढानीलकण्ठमा भानु ग्यास, ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी ग्यास, काठमाडौंको कलंकीमा गीता ग्यास, खसीबजारस्थित आरके ट्रेडर्समा सीताश्री ग्यास र सतुंगलमा श्रीमाया ग्यासको सिलिन्डर साटफेर गर्न सकिनेछ।
यसअघि सञ्चालनमा आएका केन्द्रमा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास, काठमाडौंको कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास, सुकेधारामा बाबा र श्री ग्यास, बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास तथा पेप्सीकोलामा सगर ग्यास उपलब्ध छन्। त्यस्तै, सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास साट्न सकिने व्यवस्था छ।
नयाँ व्यवस्थाअनुसार असोज २६ देखि ३० गतेसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सेवा सञ्चालन गर्ने विवरण सार्वजनिक भएको छ। आइतबार पहिलो दिन विभिन्न कम्पनीका ३ हजार ७५ सिलिन्डर बिक्री वितरण भएका थिए।
कहाँ पाइन्छ कुन ब्रान्डको ग्यास?
चपली, बुढानीलकण्ठ: भानु)
हरिसिद्धि, ललितपुर: श्रीराम, नेपाल र एचपी
कलंकी: साइबाबा, श्रीकृष्ण र गीता
खसीबजारस्थित आरके ट्रेडर्स: सीताश्री
सतुंगल : श्रीमाया
सुकेधारा : बाबा र श्री
बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि : नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी
पेप्सीकोला : सगर
सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्स : एभरेस्ट र सुगम
हरिसिद्धि, ललितपुर : श्रीराम


