काठमाडौं। नेपाल टेलिकमले ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराएको ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेजबारे सञ्चारमाध्यममा तथ्यभन्दा फरक समाचार प्रकाशित तथा प्रसारित भएको भन्दै आपत्ति जनाएको छ।
कम्पनीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्याकेजको स्वीकृति र सञ्चालनबारे भ्रमपूर्ण समाचार सम्प्रेषण भएको जनाएको हो।
नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार इन्टरनेट सेवा प्रदायकहरूले प्राप्त गरेको अनुमति पत्रका सर्तविपरीत काम गरेको भन्दै जारी गरेको प्रेस विज्ञप्तिलाई आधार मानेर भ्रमपूर्ण समाचार सम्प्रेषण भएको नेपाल टेलिकमको भनाइ छ।
टेलिकमका अनुसार कम्पनीले विगतदेखि सञ्चालन गर्दै आएको प्याकेज स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको थियो। कम्पनीले शुक्रबार नै उक्त प्याकेज सञ्चालनमा ल्याएको जानकारी प्राधिकरणलाई गराएको जनाएको छ।
प्राधिकरणलाई जानकारी गराएर सञ्चालनमा ल्याइएको प्याकेजलाई लिएर विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
टेलिकमले ३० एमबीपीएसको एकवर्षे इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउने अफरको स्वीकृति र सञ्चालनबारे कुनै भ्रममा नपर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
कम्पनीले नेपाल सरकारको स्वीकृत नीति तथा कानुनको परिधिभित्र रहेर काम गरिरहेको र कानुन पालना गर्न सधैँ प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ।
नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जारी गरेको विज्ञप्तिमा प्याकेजको स्वीकृति तथा सञ्चालनबारे तथ्यभन्दा फरक सूचना सम्प्रेषण भएको उल्लेख छ।


