काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’बाट प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड २०२६’ प्राप्त गरेको छ। यससँगै बैंक लगातार तेस्रो वर्ष उक्त अवार्डबाट सम्मानित भएको छ।
बैंकले सन् २०२४ र २०२५ मा पनि ग्लोबल फाइनान्सको यही विधाको अवार्ड प्राप्त गरेको थियो।
थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।
ग्लोबल फाइनान्सका अनुसार वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी र ग्राहकमैत्री नवप्रवर्तनलाई मूल्यांकनको आधार बनाइएको थियो। त्यस्तै, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलाई पनि अवार्ड प्रदान गर्ने आधारका रूपमा लिइएको छ।
समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थालाई विभिन्न विधामा सम्मान गरिएको थियो। सम्मानित बैंकहरूमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आईसीबीसी, मलेसियाको यूओबी मलेसिया, बंगलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत रहेका छन्।
बैंकले लगातार तेस्रो वर्ष प्राप्त गरेको यो सम्मानले ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न थप प्रोत्साहन मिलेको जनाएको छ। साथै, बैंकको प्रगतिमा सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय, सेयरधनी, कर्मचारी र सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गरेको छ।
ग्लोबल आइएमई बैंकले हाल देशभर ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र तथा ६९ एक्सटेन्सन र राजस्व संकलन काउन्टरमार्फत सेवा दिँदै आएको छ। बैंकका विदेशमा तीन प्रतिनिधि कार्यालयसमेत छन्। यी सञ्जालमार्फत बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको जनाएको छ।


