चितवन । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा अण्डाको माग बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन होलसेल मूल्य बढाएको छ। नयाँ मूल्यअनुसार अण्डाको प्रकार हेरी प्रतिकार्टुन १०० देखि २०० रुपैयाँसम्म वृद्धि गरिएको छ। तर, उपभोक्ताले तिर्ने खुद्रा मूल्य भने यथावत् राखिएको छ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बिहीबार पोखरामा बसेको बैठकले अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो। यसअघि कात्तिक ६ गते तय गरिएको मूल्यलाई छ दिनपछि नै परिमार्जन गरिएको हो।
नयाँ मूल्यअनुसार १४.५ देखि १४.८ किलो तौलको एक्सएल अण्डाको समर्थन मूल्य प्रतिकार्टुन ३ हजार ७०० रुपैयाँबाट बढाएर ३ हजार ९०० रुपैयाँ पुर्याइएको छ। त्यस्तै, १३.५ देखि १३.८ किलो तौलको ठूलो अण्डाको मूल्य ३ हजार ६०० रुपैयाँबाट बढेर ३ हजार ८०० रुपैयाँ पुगेको छ।
१२.५ देखि १२.८ किलो तौलको मिडियम अण्डाको मूल्य प्रतिकार्टुन ३ हजार ५०० रुपैयाँबाट बढाएर ३ हजार ७०० रुपैयाँ कायम गरिएको छ। सानो अण्डाको मूल्य भने प्रतिकार्टुन ३ हजार १०० रुपैयाँबाट बढाएर ३ हजार २०० रुपैयाँ तोकिएको छ।
संघका अनुसार फार्म तथा होलसेल तहमा मूल्य बढे पनि खुद्रा बजारमा उपभोक्ताले तिर्ने मूल्य परिवर्तन गरिएको छैन। ठूलो अण्डाको मूल्य प्रतिगोटा २५ रुपैयाँ र मिडियम अण्डाको मूल्य दुई गोटाको ४५ रुपैयाँ कायम छ। चाडपर्वसँगै चिसो मौसम सुरु भएपछि अण्डाको खपत बढेकाले समर्थन मूल्य समायोजन गरिएको संघले जनाएको छ।
होलसेल मूल्य बढ्दा उत्पादक तथा बिक्री वितरणमा संलग्न व्यवसायीको कारोबारमा प्रभाव पर्न सक्छ। तर खुद्रा मूल्य यथावत् रहेकाले तत्काल उपभोक्ताले अण्डा खरिद गर्दा थप मूल्य तिर्नुपर्ने अवस्था आएको छैन।


