काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले बिहीबारदेखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल ८ लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८० लाख रुपैयाँबराबरका ८ लाख कित्ता सेयर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाका लागि छुट्याएको छ। उनीहरूले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ९० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको छ। उनीहरूले न्यूनतम १० देखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन्। स्थानीयका लागि भने छिटोमा मंसिर २४ र ढिलोमा पुस १३ गतेसम्म आवेदन खुला रहनेछ। तोकिएको अवधिमा पर्याप्त आवेदन नपरे स्थानीयतर्फको बिक्री अवधि मंसिर २४ गतेसम्म थपिनेछ।
स्थानीय बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेकाले भने सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस’ इस्युअर रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।



