“हामी बिल लिएर जान्छौँ, तर भन्सारले अर्कै मूल्य देखाउँछ।” यो भनाइ हो एक आयातकर्ता व्यवसायीको। यो केवल एक व्यवसायीको भनाइ मात्र होइन, यो त आयातकर्ता व्यवसायीहरूले लामो समयदेखि भन्सारको सन्दर्भ मूल्य पुस्तिकाको कारण खेपिरहेको सास्तीको तीतो यथार्थ पनि हो।
सन्दर्भ मूल्य हटाइने
सन्दर्भ मूल्य पुस्तिका २०७५ सालभन्दा अघि सामान्य सन्दर्भका लागि प्रयोग गरिन्थ्यो। तर पछिल्लो केही वर्षमा, यसलाई बाध्यकारी जस्तो बनाइयो। जसले गर्दा व्यवसायीहरू माथि अनावश्यक झन्झट, बढी शुल्क र प्रशासनिक अप्ठ्यारो सिर्जना हुन थाल्यो। त्यसपछि व्यवसायीहरूले सन्दर्भ मूल्य खारेज गर्नुपर्ने आवाज उठाउन थाले।
अन्ततः सरकारले नयाँ आर्थिक वर्ष २०८२/८३ देखि भन्सार मूल्यांकन प्रणालीमा महत्वपूर्ण सुधार गर्ने भएको छ। अबदेखि भन्सारमा सन्दर्भ मूल्य हटाइने भएको छ। सन्दर्भ मूल्यका आधारमा भन्सार शुल्क निर्धारण गर्ने पुरानो अभ्यास अन्त्य गरेर, आगामी आर्थिक वर्षदेखि आधुनिक र वैज्ञानिक प्रणाली लागू गरिने भन्सार विभागले जनाएको छ।
यसअघि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले सन्दर्भ मूल्य पुस्तिका कडाइका साथ लागू गर्न निर्देशन दिएका थिए। त्यसकै आधारमा भन्सार प्रशासनले मूल्य निर्धारणमा सन्दर्भ मूल्यलाई अनिवार्य झैं बनाएको थियो।
व्यवसायी तथा आयातकर्ताले यसको कारण अनावश्यक झन्झट भोग्नुपरेको गुनासो गर्दै आइरहेका थिए। सन्दर्भ मूल्य बाध्यकारी बन्दै गएपछि त्यसको विरुद्ध व्यवसायी वर्गले सन्दर्भ मूल्य खारेज गर्नुपर्ने बताउँदै आएका थिए। फलस्वरूप, चालू आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले सन्दर्भ मूल्य हटाउने घोषणा नै गर्नुपर्यो।
साउन १ गतेदेखि नयाँ मूल्यांकन प्रणाली लागू हुने
भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाले भन्सार सन्दर्भ मूल्य खारेज गरिएको जानकारी गराउँदै साउनदेखि नयाँ मूल्यांकन प्रणाली लागू हुने बताएका छन्।
उनले भने, “सन्दर्भ पुस्तिकाको प्रणाली त्यति विश्वासिलो थिएन, त्यसैले व्यवसायीहरूका व्यवहारिक कठिनाइलाई ध्यानमा राखी अब वैज्ञानिक र व्यवहारिक प्रणालीमा प्रवेश गर्न लागिरहेका छौँ।”
उनका अनुसार, प्रारम्भिक मूल्यांकन आयातकर्ताले दिएको बिलका आधारमा गरिनेछ। त्यसपछि कुनै असमझदारी वा शंका उत्पन्न भएमा पछिल्लो ९० दिनको तथ्यांक केलाएर मूल्यांकन गरिने छ। यो प्रक्रिया स्वचालित डेटा प्रणाली (अटोमेटिक सिस्टम) मार्फत हुने भएकाले पारदर्शिता र निष्पक्षता दुवै कायम रहने बर्तौलाले बताए।
कारोबार मूल्यमै मूल्यांकन गरिनुपर्नेमा व्यवसायीको जोड
सन्दर्भ मूल्य खारेज हुने भएपछि व्यवसायिक समुदाय पनि नयाँ निर्णयप्रति सकारात्मक देखिएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भन्सारमा कारोबार मूल्यमै वस्तुको मूल्यांकन गरिनुपर्नेमा जोड दिए।
उनले भने, “अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्य स्थिर हुँदैन, बारम्बार परिवर्तन भइरहन्छ। त्यसैले हामी सन्दर्भ मूल्य हटाउन आग्रह गर्दै आएका थियौँ।”
अब कारोबारको बिललाई नै आधार मानेर भन्सार शुल्क तोकिने भएकाले नयाँ मूल्यांकन प्रणालीमा बजार पारदर्शी हुने अपेक्षा गरिएको छ। उनले थपे, “भन्सारमा कारोबार मूल्यकै आधारमा वस्तुको मूल्यांकन गरे व्यवसाय गर्न सहज वातावरण बन्ने छ।”
सन्दर्भ मूल्य हटेपछि व्यापारमा सहजताको अपेक्षा
नेपाल समुद्रपार निकासी पैठारी संघका उपाध्यक्ष अनिल कुमार अग्रवालले भन्सार मूल्यांकन प्रणालीमा आएको परिवर्तनप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। उनका अनुसार, सरकारले भन्सार शुल्क कारोबार मूल्यकै आधारमा मूल्यांकन गर्ने निर्णय गरेमा आयातकर्तालाई सहज हुनेछ।
उनले नयाँ प्रणालीले आयातकर्ताको मनोबल बढाउने र प्रशासनसँगको अनावश्यक झन्झट घटाउने विश्वास व्यक्त गरे। लामो समयदेखि उठाउँदै आएको भन्सार सन्दर्भ मूल्य हटाउनुपर्ने माग सम्बोधन भएमा त्यसले आयातकर्ताहरूलाई सहज हुने उनको अपेक्षा छ।
नेपालमा लामो समयदेखि भन्सार प्रशासनले व्यवसायीका बिलको मूल्यलाई मान्यता नदिई आफैंले निर्धारण गरेको सन्दर्भ मूल्यकै आधारमा भन्सार शुल्क तोक्दै आएको थियो। अब आगामी आर्थिक वर्ष २०८२/८३ देखि भने भन्सार मूल्यांकन प्रणालीमा सहज हुने अपेक्षा गरिएको छ।


