काठमाडौँ। नेपाल टेलिकमले गत आर्थिक बर्ष २०८१/८२ मा राज्यलाई कर बाफत ८ अर्ब रुपैँया बढीको योगदान गरेको छ । सरकारी स्वामित्वको टेलिकमले कर बाफत ८ अर्ब ५४ करोड ८१ लाख ५६ हजार रुपैयाँ राज्यलाई योगदान गरेको हो। अघिल्लो वर्ष कम्पनीले कर बाफत कुल ५ अर्ब १२ करोड ९८ लाख ३० हजार रुपैयाँ योगदान गरेको थियो।
यसैबीच, नेपाल टेलिकमको नाफा भने ओरालो लागेको छ। कम्पनीले शनिबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, चालु आर्थिक वर्षको टेलिकमको खुद नाफा भने ५७.२१ प्रतिशतले घटेर २ अर्ब ६६ करोड ८१ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ।
अघिल्लो आव २०८०/८१ मा नेपाल टेलिकमले ५ अर्ब २३ करोड ५५ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यसरी एक वर्षमै नाफा करिब ३ अर्ब ५६ करोड ७३ लाख रुपैयाँले घटेको देखिन्छ।
कम्पनीको कुल सञ्चालन आय ३४ अर्ब ५३ करोड २४ लाख ४२ हजार पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको ३४ अर्ब ५६ करोड दुई लाख ६५ हजारको तुलनामा जम्मा ०.०८ प्रतिशतले कमी हो ।
कुल आय भने ३८ अर्ब ७३ करोड ३३ लाख ४१ हजारमा सीमित रह्यो, जुन गत आवको सोही अवधिको ४२ अर्ब ११ करोड ६९ लाख १० हजारको तुलनामा ८.०३ प्रतिशतले घटेको छ । यस हिसाबले एक वर्षमा कम्पनीको कुल आयमा तीन अर्ब ३८ करोड ३५ लाख ६९ हजारले कमी भएको छ ।
गत आवमा कर अघि कम्पनीले ११ अर्ब २१ करोड ६३ लाख ४८ हजार रुपियाँ आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ११ अर्ब २५ करोड छ लाख ५१ हजार रुपियाँ थियो ।


