काठमाडौं। नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयपछि एकपछि अर्को गर्दै कम्पनीहरु सम्पर्कमा आउन थालेका छन्।
बिहीबार सरकारले मेटा अन्तर्गतका फेसबुकसहित विभिन्न २६ वटा प्लेटफर्म नेपालमा बन्द गर्ने घोषणा गरेको थियो। त्यसको केही घण्टामा मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ता प्रक्रियाबारे जानकारी लिन खोजेका थिए।
अमेरिकी अर्बपति एलन मस्कको एकल स्वामित्व रहेको एक्स (ट्विटर) ले पनि दर्ता प्रक्रियाका लागि नेपाल सरकारसँग सम्पर्क गरेको छ। यसअघि दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशन अनुसार बन्द गर्न थालेका छन्। अहिले धेरैले सामाजिक सञ्जालमा पहुँच प्राप्त गर्न सकेका छैनन्।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले ट्विटरबाट आज इमेल प्राप्त भएको पुष्टि गरे । ठाकुरका अनुसार सिंगापुरबाट मार्कको नाममा आएको इमेलमा दर्ता प्रक्रिया र आवश्यक डकुमेन्टका बारेमा सोधिएको थियो । इमेल प्राप्त हुनासाथ जवाफ पठाइसकिएको उनले जानकारी दिए ।
‘हामीले आवश्यक डकुमेन्टको विवरणसहित जवाफ पठाइसकेका छौं,’ उनले भने । डकुमेन्ट प्राप्त भए लगत्तै आफूहरूले तत्काल सूचीकरण गर्ने उनको भनाइ छ ।
प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णय बमोजिम फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप लगायत सामाजिक सञ्जाल बन्द भएका छन्।


