वीरगञ्ज। चालु आवको तीन महिनामा विद्युतीय जीप,कार र भ्यान आयातबाट ४५ करोड ७२ लाख राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली पनि पछिल्लो समय विद्युतीय सवारीसाधनको आयातमा उल्लेखनीय वृद्धि हुँदा उक्त राजस्व संकलन भएको बताए । यो अवधिमा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ विद्युतीय जीप,कार र भ्यानहरु आयात भएका छन् ।
कार्यालयका अनुसार गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात बृद्धि भएको छ । गत आवको तीन महिनामा रु १४ करोड ४९ लाख मूल्य पर्ने ९७ मात्रै विद्युतीय जीप,कार र भ्यानहरु आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारीसाधनआयातबाट रु नौ करोड ११ लाख मात्रै राजस्व सङ्कलन भएको थियो ।
चालु आवको तीन महिनामा रु २८ करोड ७९ लाख मूल्य पर्ने दुई हजार एक सय ९४ विद्युतीय मोटरसाइकल आयात भएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा भने रु २१ करोड १७ लाख मूल्य पर्ने एक हजार चार सय ८१ विद्युतीय मोटरसाइकल आयात भएको थियो ।
| विवरण | चालु आर्थिक वर्ष (३ महिना) | गत आर्थिक वर्ष (३ महिना) | वृद्धि/घटावट |
|---|---|---|---|
| विद्युतीय जीप, कार, भ्यान संख्या | २९९ थान | ९७ थान | +२०२ थान |
| कुल मूल्य (रु) | ६८ करोड ५ लाख | १४ करोड ४९ लाख | +५३ करोड ५६ लाख |
| राजस्व सङ्कलन (रु) | ४५ करोड ७२ लाख | ९ करोड ११ लाख | +३६ करोड ६१ लाख |
| विद्युतीय मोटरसाइकल संख्या | २,१९४ थान | १,४८१ थान | +७१३ थान |
| मोटरसाइकल आयात मूल्य (रु) | २८ करोड ७९ लाख | २१ करोड १७ लाख | +७ करोड ६२ लाख |
सर्वसाधारणको विद्युतीय सवारीसाधनप्रतिको आकर्षण र चीनको सीमा नाका हुँदै आउने सडकको अवस्था दयनीय भएपछि यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको हो ।


