काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका उद्देश्यले बजारबाट ५० अर्ब रुपैयाँ उठाउने निर्णय गरेको छ। राष्ट्र बैंकले यो रकम १७५ दिनका लागि बोलकबोल प्रणालीमार्फत संकलन गर्ने जनाएको छ।
यसका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागिएको छ। बोलकबोल प्रक्रिया बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत सञ्चालन हुनेछ।
राष्ट्र बैंकका अनुसार संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी वैशाख २३ गते गरिनेछ।
यसअघि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ संकलन गरेको थियो, जसको परिपक्वता अवधि अझै बाँकी रहेको छ।
हाल राष्ट्र बैंकले अल्पकालीन निक्षेप मार्फत ५ खर्ब ८७ अर्ब रुपैयाँ बजारबाट प्रशोचन गरिसकेको छ।
यो कदम बैंक तथा वित्तीय संस्थाहरूमा रहेको बढी तरलता व्यवस्थापन र मुद्रास्फीति नियन्त्रणका दृष्टिले लिइएको मानिन्छ।


