काठमाडौँ। गत भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा सबैभन्दा धेरै क्षति बेहोर्नुपरेको भाटभटेनी सुपर मार्केट यस वर्ष वस्तु–व्यापार श्रेणीमा उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ। आन्दोलनबाट ठूलो आर्थिक नोक्सानी व्यहोरे पनि निरन्तर कर दायित्व पूरा गर्दै आएको भाटभटेनीलाई आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा विशेष सम्मान प्रदान गरेको हो।
त्यस्तै, विभिन्न अन्य क्षेत्रगत श्रेणीहरूमा पनि उत्कृष्ट करदाताहरू घोषणा गरिएको छ। बैंकिङ तथा बीमा क्षेत्रमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले सम्मान पायो भने स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल उत्कृष्ट करदाता घोषित भयो। पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि र रेमिट्यान्स तथा मनी ट्रान्सफर सेवातर्फ आईएमई लिमिटेडलाई यस वर्षका उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको विभागले जनाएको छ।


