काठमाडौं। अर्थ मन्त्रालयले २५ जना उपसचिवको स्थानान्तरण गरेको छ। मन्त्रालयका अनुसार उपसचिव कमल लामिछाने, मञ्जु अधिकारी र प्रमोद श्रीवास्तवलाई ठूला करदाता कार्यालय पठाइएको छ।
त्यसैगरी भीमप्रसाद आचार्य, यमराज पाण्डे, तोयानाथ सापकोटा, अशोक गुरागाइँ र रमेश भट्टराईलाई राजस्व अनुसन्धान विभागमा पठाइएको छ।
संगीता घिमिरे सुवेदीलाई आन्तरिक राजस्व कार्यालय चाबहिल, उषा पोखरेललाई राजस्व कार्यालय भक्तपुर, नारायण रेग्मीलाई कोटेश्वर, र अर्जुन न्यौपानेलाई वीरगञ्ज भन्सार कार्यालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
रामप्रसाद पाठक अर्थ मन्त्रालयमै बसेका छन् भने हरिहर पौडेल भैरहवा भन्सार, शिवलाल न्यौपाने मेचीनगर भन्सार र पुण्यप्रसाद रिजाल मध्यमस्तरीय करदाता कार्यालयमा सरुवा भएका छन्।
सावित्राकुमारी शर्मा ढुङ्गानालाई पनि मध्यमस्तरीय करदाता कार्यालयमै नियुक्त गरिएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका मातहतका केही कार्यालयका दरबन्दी कटौती भएपछि सचिवस्तरीय निर्णयमार्फत सरुवा गरी पदस्थापन मिलान गरिएको हो।


